काठमाडौँ, माघ २७ । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागिय टोली एपिएफले सानदार जित निकालेको छ । सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपिएफले ५–२ गोलअन्तरले फ्रेण्ड्स क्लवलाई पराजित गरेको हो ।
एपीएफको जितमा आशिष लामा र प्रविन स्याङतेनले २र२ गोल गरे । यस्तै कप्तान टोप बहादुर बिष्टले थप एक गोल गरे । फ्रेन्ड्सका विश्व अधिकारी र फिलिपे डी सौजाले एक एक गोल गरे ।
बल पोजिसनमा पकड जमाएपनि फ्रेन्ड्स पहिलो हाफमै २–० ले पछि परेको थियो ।
खेलको १२ औं मिनेटमा आशिषले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएका थिए । ४० औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई २(० को अग्रता दिलाए । यससँगै आशिष लिगको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिएका छन् ।
खेलको ९६ औं मिनेटमा फिलिपेले गोल गर्दै फ्रेन्ड्सलाई २–१ को स्थितिमा ल्याए । ७१ औं मिनेटमा प्रविनले गोल गर्दै एपीएफलाई ३–१ को अग्रता दिलाए । ७६ औं मिनेटमा फ्रेन्ड्सका विश्वले गोल गर्दा खेल ३–२ को स्थितिमा पुग्यो ।
त्यसपछि खेलको इन्जुरी समयमा एपीएफले लगातार दुई गोल गर्यो । इन्जुरी समयको चौंथो मिनेटमा कप्तान टोपले गोल गर्दै एपीएफलाई ४–२ को अग्रता दिलाए । त्यसको एक मिनेट नबित्दै प्रविनले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ५–२ को सानदार जित दिलाए ।
एपीएफको लिगमा यो दोस्रो जित हो । जितसँगै एपीएफले १२ खेलमा ८ अंक जोडेको छ । एपीएफ पुछारबाट दोस्रो स्थानमा रहेको छ । फ्रेन्ड्स १२ खेलमा १४ अंक जोडेर लिगको नवौं स्थानमा रहेको छ ।
एपीएफको जितसँगै पुछारको सरस्वतीलाई भने रेलिगेसनको डर भएको छ । सरस्वती ११ खेलमा ४ अंक जोडेर पुछारमा रहेको छ ।