ठूला मिडिया मालिकलाई पत्रकारको तलब ‘महाभारत’ : नागरिक र कारोबार दैनिक समस्याग्रस्त !

दियो पोस्ट  

काठमाडौं । हाम्रो समाज विचित्रको छ । अरुकोे गलत क्रियाकलापको विरुद्ध औँला उठाउने मिडिया सञ्चालकहरु विभिन्न धन्दामा समलग्न छन् । केही दिनअघि अन्नपूर्ण पोष्ट दैनिकका मालिक रामेश्वर थापा विरुद्ध कास्की जिल्ला अदालतले ठगी अभियोगमा पक्राउ पूर्जी नै जारी गरेपछि थापाले अमेरिकाबाटै ‘सेटलमेन्ट’ गरेर पक्राउ पर्नबाट जोगिए ।


एक दैनिक पत्रिकाका प्रकाशक ‘मेनपावरको डेमान्ड लिएर’ मलेशियाको राजधानी तिर कम्पनि चहार्दै थिए । यता ठूला दुई प्रतिष्ठित दैनिक पत्रिकाका मालिकले भने पत्रकारलाई तलब समेत नदिएर तड्पाई राखेको खुलेको छ ।


राजधानीको सुन्धारामा कार्यालय रहेको नागरिक दैनिकका मालिक विनोदराज ज्ञवाली घरमा बन्दुक राख्ने लाईसेन्सधारी व्यक्ति हुन् । उनी अकुत सम्पत्ति आर्जन गरेका नेपाली मध्ये पर्छन् । तर, ज्ञवालीकै सञ्चारगृहमा काम गर्ने पत्रकार भने तलब नपाएर भौतारिन परेको छ ।


उनीद्वारा प्रकाशित नागरिक दैनिक र रिपब्लिका दैनिकमा कार्यरत पत्रकारहरुले आफूले तलब नपाएको भन्दै सामुहिक रुपमा तलब भूक्तानिको माग पत्र नै लेखे । गत माघ १० गते लेखिएको मागपत्रमा ८ जना पत्रकारले हस्ताक्षेर गरेका छन् ।


पत्रकारहरु तिलक पाठक, कोषराज कोइराला, बालकृष्ण ज्ञवाली, अशोक दाहाल, रद्र खड्का, भूवन शर्मा, हिमाल लम्साल, र शिवहरी घिमिरेले तीन महिनासम्म तलब नपाएको उल्लेख गरेका थिए । तर हस्ताक्षेर भएको पहिलो पाना मात्रै सञ्चार माध्यममा आएको थियो । अन्य चार पाना भने बाहिर आएको थिएन । ७० जनाभन्दा बढी पत्रकारको हस्ताक्षेर भएको अर्को पाना छुटेको थियो । उनीहरु सबैले तलब नपाएका कारण सामुहिक हस्ताक्षेर गरेका थिए ।


त्यस्तै जिल्लामा कार्यरत स्ट्रिन्जरहरुले १० महिनादेखि तलब नपाएको उल्लेख छ ।


‘विगत लामो समयदेखि यस पब्लिकेशनमा कार्यत पत्रकार र कर्मचारीले समयमा तलब पाउन सकेका छैनन् । यस बारेमा व्यवस्थापनसँग पटक–पटक वार्ता र छलफल पनि भएकै हुन् व्यवस्थापन पक्षले सँधै आश्वासन देखाउने तर कार्यान्वयन नगर्ने प्रणालीको विकास भएको छ,’ तलब भूक्तानीका लागि पत्रकारहरुले लेखेको सामुहिक निवेदनमा भनिएको छ,‘विगतमा पनि तलब र अन्य सुविधा एक–दुई महिना ढिला भएकै हो । अहिले यो अवस्था तीन महिनाभन्दा पनि बढी हुन पुगेको छ । यो संस्थामा मात्र होइन यस्तो अवस्थामा कुनै पनि संस्थामा कार्यरत कर्मचारीले काम गर्न सक्दैन । यस्तो वातावरणले कार्यरत पत्रकार र कर्मचारी मात्र होइन संस्थाको प्रगती उन्नतीमा पनि बाधा पर्ने निश्चित छ ।’

विनोद ज्ञवाली


उनीहरुले माघ २५ गते सम्म तलब भूक्तानी गर्न अल्टिमेटम दिएका थिए ।


स्रोतका अनुसार उनीहरुले दिएको अल्टिमेटम भन्दा एक दिनपछि अर्थात आईतबार नागरिक दैनिकले तलब नपाउने पत्रकारलाई तलब दिएको छ ।

कारोबार दैनिकमा उही हालत !


ठूला सञ्चार गृहमा काम गर्ने पत्रकारले न्युनतम पारिश्रमिक समेत पाउँदैनन् । यसको पछिल्लो उदाहरण हो–कारोबार दैनिक । आफूलाई अर्बपति व्यापारीको रुपमा चिनाउँदै आएका गैरआवाशिय नेपाली संघका पूर्व अध्यक्ष समेत रहेका भवन भट्ट मालिक रहेको कारोबार दैनिकमा कार्यरत अधिकांश पत्रकारले न्युनतम पारिश्रमिक नपाएको पाइएको छ । कारोबार दैनिकमा कार्यरत अधिकांश पत्रकारले न्युनतम पारिश्रमिक समेत नपाएपछि कारोबार दैनिक छाड्दै अन्य सञ्चार गृहमा जान थालेका छन् ।


कारोबार दैनिक र नागरिक दैनिकको पत्रकारलाई समयमा पारिश्रमिक नदिएको र तोकिएको न्युनतम पारिश्रमिक नदिएको विषयमा प्रेस संगठन नेपालले विज्ञप्ति नै निकाल्यो । तर, अन्य पत्रकार निकट संघ संस्था भने मौन छन् ।

प्रेस संगठन नेपाल प्रतिष्ठान प्रदेशका संयोजक विरेन्द्र ओली र सहसंयोजक हरिब बल्लब नेपालले विज्ञप्ति नै निकालेर पत्रकारलाई पारिश्रमिक नदिएको विषयमा विरोध जनाए ।


कारोबार दैनिकमा आवद्ध पत्रकारहरुले हालसम्म पनि तलब न्युनतम पारिश्रमिक नपाएको एक पत्रकारले दियोपोस्टलाई बताए ।


केही महिना अघि विमानस्थलमा मदिरा लठ्ठिएर सिल्क एयर भित्र पुगेका गैर आवाशिय नेपाली भवन भट्टद्वारा सञ्चालित कारोबार दैनिक आर्थिक ‘बिट’लाई प्राथामिकता दिने पत्रिका हो ।

भट्ट विभिन्न धन्दा र व्यावसायमा छन् । उनले जापानमा दर्जनौँ रेष्टरेन्ट सञ्चालन गरिरहेको बताइन्छ ।