ब्रिगेड ब्वाइजलाई ३–० गोलले हराउँदै त्रिभुवन आर्मी ए डिभिजन फुटबलको शीर्ष स्थानमा

दियो पोस्ट  

काठमाडौँ, माघ ८ । विभागीय टिम त्रिभुवन आर्मी क्लव शहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले ब्रिगेड ब्वाइजलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

आर्मीको जितमा कप्तान भरत खवास, विकास तामाङ र टेक बहादुर बुढाथोकीले एक एक गोल गरे । खेलको पाँचौं मिनेटमा कप्तान भरतले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । भरतले जर्ज प्रिन्स कार्कीको क्रसमा हेड गोल गरेका थिए ।

खेलको ५४ औं मिनेटमा विकास तामाङले गोल गर्दै आर्मीको अग्रता २(० को बनाए । उनले सन्तोष तामाङको पासलाई सदुपयोग गरे ।

त्यसपछि खेलको ७० औं मिनेटमा टेकले गोल गर्दै आर्मीलाई ३(० को जित दिलाए । उनले ब्रिगेडका किपर विशाल सुनुवारले पन्च गर्दै फ्यालेको रिबाउन्ड बलमा गोल गरेका थिए ।

जितसँगै आर्मीले उपाधि होड बलियो बनाएको छ । आर्मीले १२ खेलमा २९ अंक जोडेको छ । दोस्रो स्थानको मछिन्द्रको २८ अंक रहेको छ । पराजित ब्रिगेड ८ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।