बीबीसी । ब्रजिलका महान् फुटबल खेलाडी पेले अचेल बिनासहारा हिँडडुल गर्न नसक्ने स्थितिमा भएको उनका छोराले बताएका छन्।
छोरा एडिन्योका अनुसार हिजोआज पेले घरबाहिर निस्किन पनि सङ्कोच मान्छन्।
तीन पटक विश्वकप विजेता तथा अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट फुटबल खेलाडी मानिएका पेलेलाई गत वर्ष मूत्रनलीमा सङ्क्रमण भएपछि अस्पताल लगिएको थियो।
उनन्सत्तरी वर्षीय पेलेलाई केही समययता कम्मरमा समस्या देखिएको छ। उनलाई हिँडडुल गर्न फ्रेमको सहारा आवश्यक पर्छ।
केही समययता सार्वजनिक समारोह सहभागी हुन जान उनले ह्वीलचेयर प्रयोग गर्ने थालेका थिए।
पेलेका कीर्तिमान
आफ्नो २१ वर्ष लामो फुटबल जीवनका क्रममा पेलेले १,३६३ खेलमा १,२८१ गोल गरेर विश्व कीर्तिमान बनाएका थिए। सो अवधिमा उनले ब्रजिलका लागि ९१ खेलमा ७७ गोल गरे।
तीनवटा विश्वकप जित्ने उनी एक मात्र खेलाडी हुन्। ब्रजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप फुटबल जितेको थियो। उनीले विश्वकपका कुल १४ वटा खेलमा १२ गोल गरे।
उनलाई फिफाका शताब्दी खेलाडी को उपाधि दिइएको थियो। आगामी जुन महिनामा पेलेले आफ्नो अन्तिम विश्वकप फाइनल जितेको ५० वर्ष पुग्दैछ। मेक्सिकोमा भएको उक्त खेलमा सहभागी ब्रजिलको टोलीलाई कतिपयले हालसम्मकै उत्कृष्ट टोली भन्ने गर्छन्।

पेलेलाई के भएको हो ?
पछिल्ला वर्षहरूमा उनको स्वास्थ्यमा विभिन्न समस्या देखा परेका छन्। सन् २०१५ मा उनको प्रोस्टेट अर्थात् पौरुषग्रन्थिको शल्यक्रिया गरिएको थियो। उनको मिर्गौलामा पनि समस्या देखिएको थियो।
‘उहाँ महान् व्यक्तित्व हुनुहुन्थ्यो, तर आज राम्ररी हिँडडुल गर्न सक्नुहुन्न’, एडिन्योले भने। ‘उहाँलाई अचेल सङ्कोच लाग्छ, उहाँ बाहिर जान चाहनुहुन्न, देखिन चाहनुहुन्न, उहाँ कमजोर हुनुभएको छ।’ एण्डियोले भने, ‘कम्मर प्रतिस्थापन गरियो तर पर्याप्त प्रतिस्थापन हुन नसक्दा हिडडुलमा समस्या हुन्छ र उहाँमा डिप्रेशनजस्तो देखिन्छ ।’
ट्रेन्डिङ खबर उपलब्ध छैन।