दिल्ली विधानसभा चुनावको मतगणना सुरु, आम आदमी पार्टी अगाडी

दियो पोस्ट  

नयाँ दिल्ली । दिल्ली विधानसभा चुनावको मतगणना सुरु भएको छ । सुरुवाती परिणाममा आम आदमी पार्टी अगाडी देखिएको छ । पछिल्लो विधानसभा चुनावमा ६७ सिटमा जित हासिल गरेको आम आद्मी पार्टीले बहुमत ल्याउने बताइएको छ ।

गत फेब्रुअरी ८ मा दिल्ली विधानसभाको ७० सिटका लागि निर्वाचन भएको थियो । यसपटक ६२.५९ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । दिल्लीमा अहिले पनि आम आद्मीकै सरकार छ । भाजपाले दिल्लीमा पछिल्लो २२ वर्षदेखि सरकार बनाउन सकेको छैन भने कँग्रेस पनि ७ वर्षदेखि सत्ता बाहिर छ ।

मतगणना अघि उपमुख्यमन्त्री मनिष सिसोडियाले भनेका थिए, ‘हामी यो चुनाव जित्नेमा ढुक्क छौँ किनभने पछिल्लो ५ वर्ष हामीले जनताको लागि काम गरेका छौँ ।’ यसअघि, सबै एक्जिट पोलमा आपले नै सजिलै बहुमत हासिल गर्ने देखिएको थियो । तर, भाजपाले भने त्यसलाई खारेज गर्दै आइरहेको थियो । उसले यो चुनावमा ४८ सिट जित्ने दाबी गरिरहेको थियो ।