काठमाडौँ, माघ २९ । नवनियुक्त प्रहरी महानिरिक्षक ठाकुरप्रसाद ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । बुधबार गृहमन्त्रालयमा आयोजित विशेष समारोहमा गृहसचिव महेश्वर न्यौपानेले दर्ज्यानी चन्ह प्रदान गरेका हुन् ।

मंगलबार प्रहरी महानरिक्षकमा नियुक्त भएका ज्ञवालीले गृृहसचिव न्यौपानेबाट दर्ज्यानी चिन्ह ग्रहण गरेपछि बुधबार नै कार्यभार सम्हालेका छन् ।

उनले नेपाल प्रहरीको सांगठनिक सुदृढिकरण र कर्मचारीको वृत्तिविकासमा थप जोड दिनु आवश्यकता रहेको बताउँदै शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा आगामी दिनमा सरोकारवाला निकायहरुको मार्गनिर्देशन, सद्भाव र सहकार्य रहिरहने विश्वास व्यक्त गरे ।

कार्यक्रममा गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका उच्च प्रहरी अधिकृतहरु, राष्ट्रिय अनुसन्धान विभागका उच्चपदस्थ कर्मचारी एवं संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

बुधबार नै आइजिपी खनालले आफ्नो कार्यकक्ष सम्हालेका छन् । कार्यलय प्रवेशको समयमा प्रहरी अतिरिक्त महानिरिक्षक डा. आशा सिंह। प्रहरी नायव महानिरिक्षकहरु , वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुले स्वागत गरेका थिए । स्वागत पश्चात प्रहरी महानिरीक्षक ज्ञवालीले प्रहरी प्रधान कार्यालय परिसरस्थित मन्दिरमा पूजाअर्चना गर्नुका साथै अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

विसं २०२२ असोज २८ गते प्युठानमा जन्म भई २०४७ असार २५ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रवेश गरेका प्रहरी महानिरीक्षक ज्ञवाली २०५८ बैशाख १८ गते प्रहरी नायव उपरीक्षक, २०६६ मंसिर ३ गते प्रहरी उपरीक्षक, २०७३ असार २८ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७५ असोज २८ गते प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका थिए ।

समाजशास्त्रमा स्नातकोत्तर गरेका प्रहरी महानिरीक्षक ज्ञवालीले विभिन्न ३३ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गरेका छन् । प्रहरी महानिरीक्षक ज्ञवाली दुर्गम सेवा पदक, गद्दी आरोहण रजत पदक, संयुक्त राष्ट्रसंघ पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, प्रहरी सेवा पदक, प्रवल जनसेवाश्री पदक लगायतका विभूषणबाट विभूषित भइसकेका छन् । यसैगरी उनले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत दर्जनौ नगद पुरस्कार तथा प्रशंसापत्र समेत प्राप्त गरेका छन् ।

ट्रेन्डिङ खबर उपलब्ध छैन।