
काठमाडौं, ५ फागुन । आफ्नै कार्यालयमा कार्यरत सहायक लेखा अधिकृतमाथि बलात्कार अभियोगमा सहकारीका प्रबन्धक पक्राउ परेपछि एक सहकारीमा बचतकर्ताहरुको भिड लागेको छ ।
राजधानीको मैतीदेविमा कार्यालय रहेको दूरदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धक प्रमोद चन्द्र अधिकारी केही दिनअघि पक्राउ परेका थिए । सहकारीमा कार्यरत कर्मचारीमाथि बलात्कार भएको गरेको भन्दै पीडितको उजुरीको आधारमा उनलाई महानगरीय प्रहरी परिसर टेकुले पक्राउ गरि म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।
अधिकारी पक्राउ परेसँगै बचत कर्ताहरुले आफ्नो बचतको रकम फिर्ता माग गर्न थालेका छन् । बचतकर्ताहरु पक्राउ परेको केहि दिनदेखि नै कार्यालयमा धाउन थालेका छन् । तर, सहकारीका सञ्चालकहरुले रकम फिर्ता गर्न सकेका छैनन् ।
करिब साँढे करोड रुपैयाँ बचत रहेको र उक्त रकम माग्न बचतकर्ताहरु आउन थालेपनि सहकारीका सञ्चालक समिति अध्यक्ष दामोदर सुवेदी समस्यामा परेका छन् । बचतकर्ताहरुले आफ्नो डिपोजिट फिर्ता मागेर हैरान पार्न थालेपछि उनीमाथि समेत ठगीको उजुरी पर्ने खतरा बढेको छ ।
यस विषयमा सहकारीका अध्यक्ष सुवेदीलाई सम्पर्क गर्दा उनले आफूहरुले डिपोजिटरको रकम फिर्ता गरिरहेको बताए ।
‘हामी आउनेहरुलाई रकम फिर्ता गरिरहेका छौँ । यति नै रकम दियौँ भनेर भन्न सकिने अवस्था छैन,’ सुवेदीले दियोपोस्टसँग भने,‘कसैले पैसा नपाएको विषयमा मलाई थाहा छैन । कसैले नपाएको भए नाम दिनुस् ।’
सुवेदीले दियोपोस्टमा यसअघि पीडितको बयान छापिएको विषयमा समेत असहमति जनाए । ‘अघिल्लो समाचारमा हामीलाई किन सोध्नु भएन । हाम्रो अफिसको बोर्ड किन छाप्नु भयो,’ उनले धम्की दिँदै भने,‘सहकारी संस्था भनेको पब्लिक प्रोपर्टी हो ।’
सहकारीका प्रमुख कार्यकारी प्रबन्धक प्रमोदचन्द्र अधिकारीले कार्यालयमै कार्यरत एक कर्मचारीलाई कार्यालय भित्रै बलात्कार गरी सिसिटिभी फूटेज देखाइदिन्छु भन्दै ४० लाखभन्दा बढी रकम अशुली गरेको पीडितको जाहेरीमा उल्लेख छ ।