
काठमाडौँ, फागुन ८ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संचार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाको राजिनामा माग गरेको छ । सेक्युरिटी प्रेस खरिदका लागि एजेन्टसँग कमिशनको कुराकानी भएको अडियो सार्वजनिक भएपछि काँग्रेसले बास्कोटालाई राजिनामा गराउन दबाव दिएको हो ।
दबावस्वरुप नेपाली काँग्रेसले राष्ट्रिय सभा वैठक अवरुद्ध गरिसकेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मन्त्री बास्कोटालाई पदबाट राजिनामा गराएर छानविनमा बाटो खुलाउनको लागि प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।
केही बेरमा बस्ने भनिएको प्रतिनिधि सभा वैठक समेत अवरुद्ध गर्ने काँग्रेसको तयारी रहेको छ । संचारमन्त्रीले राजिनामा दिएर घटनाको सत्यतथ्य बाहिर नआएसम्म सदन चल्न नदिने काँग्रेसले घोषणा गरिसकेको छ ।

बिहीबार सार्वजनिक भएको अडियोमा संचारमन्त्री बास्कोटाले स्वीस एजेन्टसँग करोडौँको बार्गेनिङ गरेको कुरा बाहिरिएको छ । यस बिषयमा आफु भने जानकार नभएको भन्दै मन्त्री बास्कोटा पन्छिन खोजेका छन् । उनले छानविन गर्ने निकाय भएको कारण घटना सत्य हो या झुठो पछि ठहरिने बताएक छन् ।
प्रकरण सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सम्वद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले समेत आन्दोलनको घोषणा गरिसकेको छ ।