ईङ्लिस प्रिमियर लिगः वेस्ट ह्यामलाई पराजित गर्दै लिभरपुलले बनायो नयाँ कीर्तिमान

दियो पोस्ट  

काठमाडौँ, फागुन १३ । लिभरपुलले ईंङलिस प्रिमियर लिगमा नयाँ कीर्तिमान कायम गरेको छ । सोमबार राति भएको खेलमा वेस्ट ह्यामलाई पराजित गर्दै लिभरपुलले म्यानचेस्टर सिटीले कायम गरेको लगातार १८ जितको कीर्तिमान बराबरी गरेको हो ।

सिटीले सन् २०१७ को अगस्टदेखि डिसेम्बरसम्म लगातार १८ खेलमा अपराजित हुँदै कीर्तिमान कायम गरेको थियो । जारि लिगमा लिभरपुलको थप खेलहरु बाँकी नै रहेको हुनाले अपराजितको संख्या अझै बढ्ने देखिएको छ । निकै नै लयमा रहेको लिभरपुल जारि लिगमा सुरक्षित शीर्ष स्थानमा रहेको छ ।

गएराती भएको खेलमा भने लिभरपुलले वेस्टह्याममाथि कठिन जित निकालेको छ । साडियो मानेले खेलको अन्तिम समयमा १ गोल थपेपछि लिभरपुल ३–२ गोलले विजयी भएको हो । जर्जिन्हो विजनाल्डमले खेलको नवौं मिनेटमा एनफिल्ड क्लब लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि पाहुना टोली वेस्ट ह्यामका इस्सा डिपले गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफमा पाब्लो फोर्नाल्सको गोलसंगै वेस्ट ह्याम खेलमा अगाडी बढ्यो । ६८ औ मिनेटमा मोहमद सलाहाले खेल बराबरीमा ल्याए । बराबरीतर्फ उन्मुख खेलको ८१ औ मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई महत्वपूर्ण तीन अंक दिलाए ।

लिभरपुलले लिगमा २२ अंकको अग्रता कायम गरेको छ । डेबिड मोयस नेतृत्वको वेस्ट ह्याम २४ अंक सहित रेलिगेशनमा रहेको छ । लिभरपुललाई जारि सिजनको च्याम्पियन बन्न मात्र चार खेल जित्न आवश्यक रहेको छ ।