
काठमाडौं, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेको भन्दै नेकपाले विहिबार नेपाल बन्द सम्पन्न गरेको छ । नेपाल बन्द सफल भएको भन्दै नेकपाले जनतालाई धन्यवाद समेत दिइसकेको छ । नेकपाले बन्द सफल बनाउन भन्दै विभिन्न स्थानमा कमाण्डर तोकेको थियो ।
राजधानीको रत्नपार्क क्षेत्र सबैभन्दा पेचिलो क्षेत्र हो । यो क्षेत्रमा नेकपाको विद्यार्थी, मजदुर र व्यापार कमिटिमा अवद्धहरुले नेतृत्व गरेका थिए । पूर्व गृहमन्त्री जनार्दन शर्मा पनि कमाण्डर तोकिएका थिए । यद्धपी रत्नपार्कको कमाण्डर भने नारायणकाजी श्रेष्ठ नै हुन् ।

अखिल नेपाल ट्रेडयुनियन महासंघका अध्यक्ष जगत सिंखडा, विद्यार्थी अध्यक्ष रन्जित तामाङ र उद्योग व्यापार विशेष समितिका अध्यक्ष कमल सापकोटाको नेतृत्वदायी भूमिका थियो । प्रहरीसँग सामान्य भनाभन भएपनि यो क्षेत्रमा दिनभर शान्तिपूर्ण रहयो । तर, साँझपख भने प्रधानमन्त्री ओली निकट महेश बस्नेत समुहले प्रतिरोध स्वरुप मार्च पास गरेको थियो ।
विहिबारको बन्दको क्रममा विहानै गंगबुमा अज्ञात समुहले ट्याक्सी जलाएका थिए । कोटेश्वरमा सामान्य झडप भएको थियो । त्यस्तै नेताहरु अष्टलक्ष्मी शाक्य लगायत नेता पक्राउ परेका थिए । केही सामान्य घटनाबाहेक उपत्यकामा विहिबारको नेपाल बन्द शान्तिपूर्ण नै रहेको छ ।