काठमाडौं, ३ फागुन । नेकपा नेतृ रामकुमारी झाँक्रीलाई रिहा गरेको भन्दै महानगरीय अपराध महाशाखाका एसएसपी दिपक थापा हेडक्वार्टर तानिएका छन् ।
१० महिनाअघि मात्रै अपराध महाशाखामा आएका उनलाई रातारात हेडक्वार्टर तानेर उनको ठाउँमा एसएसपी चन्द्र कुवेर खापुङलाई ल्याइएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा झाँक्रीलाई पक्राउ गरिएपनि थापाले ५ घण्टामै छाडेका कारण उनलाई हटाइएको हो । उनलाई बालुवाटारकै निर्देशनमा हेडक्वार्टर तानिएको स्रोतले जनाएको छ ।
थापाको कार्यकालमा ठूला आपराधीक घटनाको सफल अनुसन्धान भएको थियो । राजधानीको गोंगबुमा एक युवाको हत्या घटनामा २४ घण्टा नबित्दै अपराध महासाखाले सफल अनुसन्धान गरेर घटनामा समलग्न महिलालाई पक्राउ गर्न सफल भएको थियो ।
राज्य विरुद्ध कसुर गरेको भन्दै नेकपा नेतृ रामकुमारी झाँक्री गत माघ १९ गते पक्राउ गरेकी थिइन् । उनलाई प्रहरीले ५ घण्टामै रिहा गरेको थियो ।