भाइरल बनेको तीन मुखे पुल सञ्चालनमा ल्याउने तयारी !

diyopost.com
दियो पोस्ट  आइतबार, माघ २३, २०७८ | ११:१८:५३

स्याङ्जा । लुम्बिनी प्रदेशका तीन जिल्लालाई जोड्नेगरी निर्माण हुन लागेको तीनमुखे झोलुङ्गेपुल अब छिट्टै प्रयोग गर्न पाइने भएको छ । सात वर्षअघि सुरु स्याङ्जा, पाल्पा र गुल्मीलाई जोड्ने देशकै पहिलो तीनमुखे रिडी सङ्गम झोलुङ्गेपुल निर्माण अन्तिम चरणमा पुगेको छ ।

पुल निर्माण सम्पन्न भएपछि आकर्षणको केन्द्र बन्नुका साथै टिकटक, फेसबुकलगायतका सामाजिक सञ्जालमा समेत ‘भाइरल’ बन्ने देखिएको छ । तीन वर्षभित्र पुल निर्माण सम्पन्न गर्नेगरी २०७१ साल असार १० गते निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएकोमा सात वर्षमा निर्माणले बल्ल पूर्णता पाउन लागेको छ । पुलले स्याङ्जाको कालीगण्डकी–१ कारिकोट चन्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली र गुल्मीको रुरु गाउँपालिका–१ रिडी जोड्नेछ ।

नौ करोड ८८ लाख २६ हजार ३३२ रुपियाँमा नयाँ बाटो–रुबिना–मना–जेबीले ललितपुरको पुल्चोकस्थित स्थानीय पूर्वाधार विभागअन्तर्गतको झोलुङ्गेपुल शाखासँग पुलको ठेक्का सम्झौता गरेको थियो । कालीगण्डकीमा बनाइएको झोलुङ्गेपुलको मुख्य पिलरको लम्बाइ १७७.४ मिटरको छ । पिलर तीन जिल्लाको मध्यभागमा पर्नेगरी निर्माण गरिएको छ ।

 

कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले नेपालकै आकर्षक र धेरै जनता लाभान्वित हुने पुल निर्माणकार्य ढिलाइ भए पनि अब आशा पलाएको बताउनुभयो । निर्माण कम्पनीका प्रतिनिधि महेन्द्र अधिकारीले अहिले काम तीव्र गतिमा अगाडि बढेको बताउँदै बीचमा प्राविधिक समस्याका कारण ढिलाइ भए पनि अब कामले पूर्णता पाउने बताउनुभयो ।

“यसखाले पुल नेपालकै पहिलो पटक निर्माण गर्न लागिएकाले यसको डिजाइन गर्न एक वर्ष लागेको, पुल कसरी बनाउने, कस्ता सामग्र्री प्रयोग गर्ने र लोड थाम्ने कसरी बनाउने भन्नेबारे जानकारी लिँदा नै समय बित्यो,” उहाँले भन्नुभयो । तीन जिल्लातर्फकै पुलको बाटोको फिटिङ सकिएको छ भने डायगनल, जाली हाल्नेलगायतका काम भइरहेको छ । पुलको भ-याङ र सौर्य बत्ती जडान तथा रङ्गरोगन गर्ने काम बाँकी छ ।

 

झोलुङ्गेपुल शाखाका सब–इन्जिनियर गोपालबहादुर थापाले बाढीका कारण गुल्मीतर्फका लठ्ठा परिवर्तन गर्नुपरेको र स्याङ्जातर्फको लठ्ठा बेरिँदा कालीगण्डकीको बहाव नघटेका कारण त्यसलाई खोलेर पुनः तन्काउन समय लागेको बताउनुभयो । उहाँले १६ लाख रुपियाँ निर्माण व्यवसायीको कट्टा हुनेगरी पुनः लठ्ठा उपलब्ध गराइएको बताउनुभयो ।

मुख्य पिलरको जमिनमुनि १६ मिटर फाउन्डेसन गरी थप १२ मिटरमा बाटो निर्माण गरिएको छ भने त्यसबाट २५.२३ मिटरको उचाइको टावरमा लठ्ठा कसिएको छ र एक मिटर १५० सेन्टिमिटरमा ढलान गरी रेलिङ राखिएको छ । हेर्न वा हिँड्नका लागि नभई, सौर्य ऊर्जा प्रयोजनका लागि रेलिङ निर्माण गरिएको हो ।

झोलुङ्गेपुल शाखाका योजना प्रमुख भरत अर्यालले पुल निर्माणमा तेस्रो पटक समय थपेर काम अगाडि बढाएको बताउँदै आगामी चैत मसान्तसम्म निर्माण सकिने बताउनुभयो । उहाँका अनुसार पुल निर्माण व्यवसायीलाई पाँच करोड ४५ लाख ४२ हजार नौ सय रुपियाँ भुक्तानी गरिसकिएको छ र हालसम्मको भौतिक प्रगति ९० प्रतिशत भएको छ । गुल्मीबाट निर्वाचित सांसद चन्द्र भण्डारी र तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले पुल संयुक्त रूपमा शिलान्यास गर्नुभएको थियो । गाेरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित खबर