पुँजीवादी समाजलाई चुनौती दिँदै ‘बसेल र सोनी’ले गरे जनवादी विवाह !

diyopost.com
दियो पोस्ट  शुक्रबार, फाल्गुण १३, २०७८ | १८:२४:०४

काठामाडौँ । न बिहेका लागि सजिएको मण्डप, न पुरेत, न कुनै तामझाम, न त सुनचाँदीका गहना र महंगा बस्त्रमा सजिएका दुलाहा–दुलही । मञ्चमा बर–बधुले एक अर्कालाई टिका र माला लगाइदिए । दर्शक दिर्घाबाट ताली बजे । शुभेच्छुकहरुले नव विवाहित जोडीलाई शुभकामना दिए । र, बर बधु दुबैले एक अर्कालाई साथ दिने र पार्टी तथा क्रान्ति प्रतिको प्रतिबद्धता जाहेर गर्दै भाषण गरे अनि बिबाह सम्पन्न भयो ।

बुधबार राजधानीमा सम्पन्न एक बैवाहिक समारोहमा देखिएको दृश्य हो यो । पछिल्लो समय माओबादी तथा क्रान्तिकारी भनिनेहरुका विवाह परम्परागत र भड्कलो हुँदै गएका बेला नेकपा माओवादी केन्द्रका नेता, युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकका प्रमुख स्वकीय सचिव दिलिप सोनी र पालुङटार नगरपालिकाका उपमेयर पम्फा बसेलबीचको जनवादी विवाहले जनयुद्ध कालको झल्को दिएको छ ।

नेकपा मााओवादीले संचालन गरेको १० वर्षे जनयुद्धमा कैयौँ जोडीले बन्दुक साटेर विवाह गरे । ति बिबाह जनबादी मात्रै थिएनन् ८० प्रतिशत भन्दा बढी अन्र्तजातीय थिए । तर, पार्टी शान्ति प्रकृयामा आईसकेपछि कैयौँ जनवादी बिबाह डिभोर्समा परिणत भए । अन्र्तजातीय बिबाह गरेका दर्जनौँ जोडीहरु बिस्थापित भए । जनयुद्ध लडेर आएका नेताहरु समेत पछिल्लो समय आफ्ना छोरा छोरीको बिबाह परम्परागत शैलीमा तडकभड्क किसिमले गर्दै आएका छन् । तर, सोही पार्टीका कार्यकर्ताले भने अहिले पनि सामान्य तरिकाले जनवादी बिबाह गर्दा पार्टीले अंगालेको क्रन्तिकारी बिचार अझै जिबितै छ भन्ने गतिलो उदाहरण बनेको छ सोनी र बसेल बीचको बिबाह ।

उनीहरुबीचको जनवादी विवाहले आजको पुजीवादी समाजलाई चुनौती मात्र दिएको छैन, आफ्नो बिरासत बिर्सिदै गएको माओवादी नेतृत्वलाई समेत सोँच्न बाध्य बनाएको छ । आफ्नो बिबाहको बारेमा प्रतिकृया दिँदै दिलिप सोनी भन्छन्, ‘हाम्रो बिबाह पार्टीले आयोजना गरिदिएको हो । उहाँ (पम्फा बसेल) पनि पार्टीमै सकृय हुनु हुन्छ, म पनि पार्टी र क्रान्तिप्रति सधै प्रतिवद्ध छु, त्यसैले हामीबीच विवाह सम्भव भएको हो ।’

यद्यपी, पम्फा बसेल २०५८ सालदेखि नै पार्टीमा सकृय छिन् । उनी नेकपा माओवादी केन्द्रको आठौँ राष्टिय महाधिवेशनमा पार्टीको केन्द्रिय सदस्य पदमा निर्वाचित भएकी छिन् । त्यस्तै, दिलिप सोनी पार्टीको विशेष प्रदेश सम्पर्क समन्वय समितिको सदस्य समेत रहेका छन् ।

त्यसो त, उनीहरुको बिबाहले दलित समुदायभित्रको जातीय बिभेदलाई अन्त्य गर्दै सामाजिक अन्र्तघुलनको संदेश समेत दिएको छ । पम्फा बसेल सार्की समुदायकी हुन भने, सोनी बिश्वकर्मा समुदायका हुन् । ब्राम्हणबादी राज्यसत्ताले बिश्वकर्मा र सार्की समुदायबीचमा समेत सामाजिक बिभेदको पर्खाल खडा गरिदिएको छ । तर, सोनी र बसेलबीचको बिबाहले सबै खाले जतीय बिभेदको अन्त्य गरि समतामुलक समाज निर्माणका लागि सकारात्मक संदेश दिएको छ ।

सोनी र बसेलबीच सम्पन्न भएको जनवादी बिबाह समारोहमा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक तथा पार्टीका उच्च पदस्थ नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो । पार्टी अध्यक्ष दाहालले नवबिबाहित जोडीलाई टिका लगाई सफल दाम्पत्य जीवनको शुभकामना दिए ।

 

 

सम्बन्धित खबर