काठमाडौं । चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–५ बस्ने २७ वर्षीय संजिभ तामाङ रहेका छन् । तामाङले २९ लाख रूपैयाँ ठगी गरेको भन्दै आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
तामाङले ११ जनालाई वैदेशिक रोजगारीका लागि चेक रिपब्लिक पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कपनबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।