पानी संकटले विश्व शान्ति खतरामा, विश्वका २ अर्ब २० करोड बढि मानिस शुद्ध खानेपानीबाट बञ्चित

आज विश्व पानी दिवस

दियो पोस्ट  

आज संसारभर विभिन्न कार्यक्रम आयोजना गरी ‘विश्व पानी’ दिवस मनाइँदैछ । हरेक वर्ष मार्च २२ का दिन पानी दिवस मनाउने गरिन्छ ।
सन् १९९२ मा ब्राजिलको रियो दी जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी संयुक्त राष्ट्रसंघको महासभाले विश्व पानी दिवस घोषणा गरेको थियो । त्यसयता हरेक वर्ष मार्च २२ मा विश्व पानी दिवस मनाउने गरिन्छ ।

पानी दिवस जसरी मनाइएपनि शुद्ध तथा सुरक्षित पानीमा आम मानिसको पहुँच सोचनिय विषय हो । संयुक्त राष्ट्रसंघले विश्व पानी दिवसको अवसरमा सार्बजनिक गरेको रिपोर्टले संसारका करोडौ मानिस शुद्ध खानेपानीबाट बञ्चित रहेको र विश्वव्यापी पानी संकटले विश्वको शान्ति नै खतरामा रहेको चेतावनीसमेत दिएको छ ।

उक्त रिपोर्टका अनुसार संसारभर २ अर्ब २० करोड मानिस अझैपनि शुद्ध खानेपानीबाट बञ्चित छन् भने करिब ३ अर्ब ५० करोड मानिस सुरक्षित रुपमा व्यवस्थित सरसफाईको पहुँचबाहिर छन् । पानीको संकटबाट निम्तिएको तनावले संसारभर द्धन्द्ध बढ्नेसमेत उक्त रिपोर्टले जनाएको छ ।
‘पानीले स्वास्थ्य, शिक्षा, खाना, उर्जा सुरक्षा, रोजगारी, दिगो पारिस्थितिक प्रणालीलाई समृद्ध बनाउदै विश्व शान्तिलाई बढावा दिन्छ’ उक्त रिपोर्टका प्रमुख सम्पादक रिचार्ड कोनरले भनेका छन्, ‘तर हाल बढेको पानी संकटले द्धन्द्ध, हिंसा, महामारी, वैश्विक तापक्रम, ठुलो संख्यामा बसाईसराई जस्ता संकट निम्त्याइरहेको छ ।’

यस वर्षको पानी दिवस ‘शान्ति र समृद्धिका लागि पानी’ भन्ने नाराका साथ विभिन्न जनचेतनामुलक कार्यक्रम आयोजना गरि मनाइँदै छ । संयुक्त राष्ट्रसंघले सन् २०३० सम्म विश्वका सबै जनसंख्यालाई शुद्ध खानेपानी र सरसफाइको सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

एजेन्सीको सहयोगमा