काठमाडौं महानगरले वैशाख १ देखि दुई चरणमा भवन नक्सा स्वीकृत गर्ने

दियो पोस्ट  

काठमाडौं । काठमाडौ महानगरपालिकाले नयाँ वर्ष २०८१ साल वैशाख १ गतेदेखि दुई चरणमा भवन नक्सा स्वीकृत गर्ने मापदण्ड ल्याएको छ । सुरक्षित भवन निर्माणका लागि दुई चरणमा भवनको नक्सा स्वीकृत गर्ने मापदण्ड ल्याएको हो ।

नयाँ मापदण्डअनुसार भवनको प्लिन्थ लेभलसम्मको नक्सा पहिलो चरण र प्लिन्थ लेभलदेखि माथिल्लो भागको नक्सा अर्को चरणमा नक्सा स्वीकृत हुनेछ । साथै सरकारी, अर्धसरकारी, बैंक तथा वित्तिय संस्था, शैक्षिक संस्था, स्वास्थ्य भवन, संयुक्त भवन, व्यापारिक भवन निर्माण गर्दा अनिवार्य रुपमा आकस्मिक विपद् व्यवस्थापन योजनासमेत उक्त भवनको नक्सामा समावेश गरिएको हुनुपर्नेछ । काठमाडौ महानगरपालिकाले वडा सचिव र वडाका इन्जिनियरहरुका लागि आयोजना गरेको ‘भवन निर्माण मापदण्ड २०८० तथा भवन संहिता’ सम्बन्धि अभिमुखीकरण कार्यक्रममा नयाँ भवन मापदण्डसम्बन्धी जानकारी दिइएको हो ।

महानगरपालिकाले ‘भवन निर्माण मापदण्ड २०८०’, ‘भवन निर्माण सम्बन्धि कार्यविधि २०७५ को पहिलो संशोधन २०८०’ जारी गरेको छ । महानगरपालिका भित्र १७ मिटर (अधिकतम ५ तला) भन्दा अग्ला वा १० हजार स्वाक्यरफिट भन्दा धेरै क्षेत्रफल भएका भवन निर्माण गर्दा अनिवार्य रुपमा भुप्राविधिक अनुसन्धान गर्नुपर्ने व्यवस्था महानगरले गरेको छ ।

५ हजार वर्गफिटसम्म क्षेत्रफल हुने भवनको नक्सा वडा स्तरबाटै स्वीकृत हुन्छ भने सोभन्दा बढी क्षेत्रफल भएका भवनको नक्सा महानगरपालिकाबाट मात्र स्वीकृत हुन्छ । १० हजार वर्गफिटन्दा बढि क्षेत्रफल भएका भवनको नक्सा भने निर्णायकहरुको मुल्यांकनबाट मात्र स्वीकृत गर्ने गरिन्छ ।

वैशाख १ गतेदेखि लागु हुने दुई चरणको नक्सा स्वीकृतीको लागि अनलाईन प्रणाली इलेक्ट्रोनिक विल्डङ परमिट सिस्टम (इबीपीएस) मार्फत आवेदन दिन सकिने महानगरले जनाएको छ ।

सिफारिस