जापानले विदेशी नागरिकलाई पनि ‘होम केयर’ सेवामा कामको अनुमती दिने भएको छ । जापानको ‘वेलफेयर मन्त्रालय’ ले बृद्धबृद्धाको हेरचाहका लागि होम केयर सेवामा विदेशी नागरिकलाई पनि कामको अनुमती दिने भएको हो ।
जापानमा होम केयर सेवामा आवद्ध त्यहाँका स्थानिय कर्मचारीहरुको उमेर बढ्दै गएको र कामदार अभावका कारण सरकारले योग्य विदेशी कामदारलाई सो सेवामा आवद्ध गराउने योजना बनाएको हो ।
मन्त्रालयले विदेशी कामदारलाई होम केयर सेवामा आवद्ध हुने योजनासम्बन्धि विज्ञ टोलीसमक्ष प्रस्ताव राखेको थियो । उक्त प्रस्तावपछि विदेशी कामदारलाई बृद्धबृद्धाको हेरचाह गर्न होम केयर सेवामा आवद्ध गराउने योजनामा जापान सरकार सकारात्मक देखिएको स्थानिय मिडिया जापान टाइम्सले उल्लेख गरेको छ । यद्यपि, मन्त्रालयले उक्त अनुमतीको निर्णय भने आगामी बैठकपछि मात्र गर्ने जनाएको छ ।
जापान टाइम्सका अनुसार होम केयर क्षेत्रमा विदेशी कामदारको लागि उपलब्ध कामको दायरा फराकिलो बनाउने र यस क्षेत्रमा भएको श्रमिक अभाव कम गर्ने जापान सरकारको उदेश्य रहेको छ । होम केयर सेवाका लागि नर्सिङ कार्यालयहरुले विदेशी कर्मचारीलाई तालिम उपलब्ध गराउनेसमेत उक्त समाचारमा उल्लेख गरिएको छ ।
हाल जापानले विशेष क्षमता भएका कामदारको नाममा विदेशी प्राविधिक, इन्टर्न टेनी र विदेशी कामदारहरुलाई मात्र आफ्नो देशमा कामको अनुमती दिएको छ । जापानी भाषाको दक्षता अभावमा हाल विदेशी कामदारहरुलाई घरायसी काममा आवद्ध हुन, बृद्धबृद्धाको हेरचाहलगायत काममा जापान सरकारले प्रतिबन्ध लगाएको छ ।
उक्त सेवाको लागि कुन मुलुकका नागरिक आवद्ध हुन पाउने भन्नेबारे भने हाल उल्लेख गरिएको छैन । यदि जापान सरकाले सो सेवाको अनुमती दिएमा योग्य नेपाली नागरिकलेसमेत होम केयर सेवामा काम गर्न पाउने सम्भावना भने देखिन्छ ।