हिमालय टेलिभिजनका पत्रकार अश्विन दानी चोरी आरोपमा पक्राउ

दियो पोस्ट  

काठमाडौं । मुगा माला, टल्कने पत्थर लगायतका बहुमुल्य बस्तु ठगी गरेको आरोपमा गोरखा घर भएका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–३ नारेश्वरका २३ बर्षीय अश्विन दानी र भिमसेन थापा गाउँपालिका–८ का २५ वर्षिय अर्जुन कुमाल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

दानी गोरखाबाट हिमालय टेलिभिजनको संवाददाता रहेको खुलेको छ । उनी विभिन्न शक्तिशाली व्यक्तिहरुसँग खिचेको तस्विर सामाजिक सार्वजनिक गर्ने व्यक्ति हुन् । उनले त्यही प्रभावमा तस्करी गर्दै आएको खुलेको छ । उनीहरुसँगै कपिलवस्तुका २७ बर्षीय इमान सिंह सुनारलाई पनि पक्राउ गरिएको कार्यालयका निमित्त प्रमुख डिएसपी खगेन्द्रबहादुर खड्काले बताए । डिएसपी खड्काका अनुसार गत फागुन ३० गते मुगा माला र टल्कने पत्थर किन्न भन्दै उनीहरु नुवाकोटको बिदुर नगरपालिका–७ महादेवखर्कस्थित चन्द्रबहादुर तामाङको घरमा पुगेका थिए ।

‘घरमा पुगेर सामान हेरेछन्, ३५ लाखमा किन्ने फाइनल डिल पनि भएछ,’ उनले भने, ‘तर अन्त्यमा पैसा नदिई सामान लिएर भागेछन्,’ प्रहरी स्रोतले भन्यो,‘तामाङले प्रहरीमा खवर गरेपछि प्रहरीले उनीहरुको खोजी कार्य तिव्र पारेको थियो । फोन ट्रयाकको आधारमा काठमाडौंको बालुवाटारस्थित उनीहरुकै कोठाबाट तीनै जनालाई पक्राउ गरिएको हो । ठगी भएको खवर आएपछि हाम्रै योजनामा तामाङलाई अरु पत्थर पनि छ भन्दै उनीहरुलाई लिन आउनु भनेर बोलाउन लगायौं ।’

ठगी गरेको सामान सहित उनीहरुलाई पक्राउ गरिएको डिएसपी खड्काले बताए । उनीहरुको साथबाट ठगी गरेको मुगा माला चार थान, सि माला दुई थान, आर माला र टल्कने पत्थर नौ थान समेत बरामद भएको उनले जानकारी दिए । उनीहरु बिरुद्ध ठगी मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

TATA ADD