काठमाडौं । नेपाल प्रहरीका महानिरिक्षक वसन्तबहादुर कुँवरले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताको आधार प्रमाण नदेखिएको बताएका छन्।
बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महानिरीक्षक कुँवरले पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नताको आधार, प्रमाण नरहेको बताएका हुन्।
उनले गृहमन्त्री लामिछानेको सम्बन्धमा ठाडो उजुरी आएको र अनुसन्धान गर्दा तथ्य प्रमाण नभेटिएको बताए। जिबि राईको सम्बन्धमा नेपाल प्रहरी संवेदनशील रहेको र सोही अनुरुप पक्राउ गर्ने प्रक्रियामा लागेको उनले जानकारी दिए। राई मलेसियामा भए पनि नेपाल र मलेसियाका बीचमा सुपुर्दगी सन्धी नभएका कारण नेपाल पठाउन मलेसिया सरकार बाध्य नभएको बताए।
उनले भने,‘जिबी राईको इस्युमा हामी संवेदनशील छौं। यो इस्युको मेन जड त्यही हो भन्ने हामीलाई लाग्छ। हामीले डिफ्युजन नोटिस जारी गर्यौं। रेड कर्नर नोटिश जारी गर्यौं। सम्बन्धित पक्ष मलेसियामा छ नै भन्छौं। मलेसियामा सुपुदर्गी सन्धि छैन। हामीले आग्रह पत्र पठाएका भए पनि मलेसियन सरकार बाध्य भएको छैन। इन्टरपोलले फिर्ता पठाउन सक्दैन। अझैपनि हामी मेरो तहबाट काम गर्दैछौं। सहकारीको विषयमा ठाडो उजुरी आयो। अनुसन्धान गर्दाखरी तथ्य प्रमाण भेटिदैन, रवि लामिछानेमा अहिलेसम्मको तथ्य, प्रमाणमा कुनैपनि आधार देखिँदैन।’