काठमााडौं । नेपाल हुदै अवैध रुपमा भारत प्रवेश गरेको आरोपमा दुई चिनिया नागरिकलाई भारतिय सशस्त्र प्रहरी बलले पक्राउ गरेको छ । उनीहरुलाई भारतको उत्तर प्रदेश राज्यस्थित सिद्धार्थनगर कक्रवा पोष्टबाट प्रक्राउ गरिएको हो । पक्राउ पर्नेमा चीनको सिचुवान प्रान्तका २७ वर्षीय होउ पुलिन र चोङकिङ शहरकी बासिन्दा २२ वर्षीय युआन युहान रहेका छन् ।
पक्राउ परेका उनीहरुले आफुहरु नेपाल हुदै दलाई लामा भेट्न भारततर्फ लागेको बताएका छन् । दुवै जना अवैध रुपमा भारत प्रवेश गर्न खोजेकोले पक्राउ गरिएको नेपाल भारत सीमानामा खटिएको सशस्त्र प्रहरी बलले जनाएको छ । उनीहरुविरुद्ध एफआईआर दर्ता गरिएको छ भने कारबाहिका लागि चिनिया राजदुतावासलाई जानकारी गराइएको भारतिय प्रहरीले जनाएको छ । सिद्धार्थनगरकी वरिष्ठ प्रहरी उपरिक्षक प्राचि सिंहले टाइम्स अफ इन्डियासँग बताएअनुसार सोधपुछको क्रममा हिन्दी र अंग्रेजी भाषा बोल्न नजानेपछि उनीहरु चिनिया नागरिक भएको शंका लागेको थियो ।
उनीहरुसँग भएको कागजात हेर्दा दुवैजना चिनिया नागरिक भएको र उनीहरुको नेपालका लागि भिषा लागेको पुष्टि भएको थियो । ‘अवैध रुपमा भारत प्रवेश गर्नुको कारणबारे सोध्दा दुवै जनाले चित्तबुझ्दो जवाफ दिएका छैनन्’ एक प्रहरी अधिकारीले टाइम्स अफ इन्डियासँग भनेका छन्, ‘जति नै पटक सोधेपनि आफुहरु नेपाल आएको र दलाई लामालाई भेट्न चाहेको भनिरहेका छन् । उनीहरुको मोबाइल खानतलास गर्दा तिनीहरु ब्ंगलादेश पनि घुम्न चाहेको देखिन्छ । थप अनुसन्धानका लागि हामीले गुप्तचरलाई पनि खबर गरेका छौ ।’