काठमाडौं । प्रधानाध्यापक र अभिभावकको लापरबाहिले सर्लाहीकी एक बालिका स्कुल एजुकेसन एक्जामिनेसन (एसईई) दिनबाट बञ्चित भएकी छन् । सर्लाहिको कविलाशी नगरपालिका वडा ४ की निशा कुमारी यादव एसईई दिनबाट बञ्चित भएकी हुन् ।
यादव सर्लाहिको बरहथवा नगरपालिका ९ मा अवस्थित एजुकेसन होम सेकेण्डरी स्कुलकी छात्रा हुन् । जुन बोर्डिङ स्कुल हो । उनी कक्षा ३ देखि सोहि विद्यालयमा अध्ययनरत थिइन् । विद्यालयका प्राधानाध्यापकले उनको विवरण राष्ट्रिय परिक्षा बोर्डमा नपठाउँदा निशा यस वर्षको एसईई परिक्षा दिनबाट बञ्चित भएकी हुन् । यसमा विद्यालयका प्राधानाध्यापक र छात्राका अभिभावक दुवैको लापरबाहिका कारण यस्तो घटना भएको बुझिएको छ ।
‘प्रवेश पत्र नआएपछि थाहा भयो’
कविलाशी नगरपालिका हेमपुरकी स्थानिय बासिन्दा उनलाई उनका अभिभावकले गुणस्तरिय शिक्षा प्रदान गर्न बरहथवा नगरपालिकामा रहेको एजुकेसन होममा भर्ना गराएका थिए । बरहथवामा आफन्तको घरमा बसेर उक्त विद्यालयमा आफ्नो अध्ययन गरिरहेकी थिइन् ।
बिहिबारदेखि सुरु भएको एसईई परिक्षा सुरु हुनुअघि आफ्नो प्रवेश पत्र लिन उनी सोहि विद्यालय पुगिन् । तर प्रवेश परिक्षा नआएपछि मात्र आफु एसईई दिनबाट बञ्चित भएकोबारे थाहा पाएको उनले बताइन् ।
‘म अस्ति प्रवेश पत्र लिन स्कुल गएको थिए’ उनले भनिन्, ‘सबैको प्रवेश पत्र आयो मेरो मात्र आएन । त्यसपछि मात्र बल्ल थाहा पाए । मैले प्रवेश पत्रको लागि चाहिने फाराम पनि भरेको थिए । सरहरुले त्यो फारम पनि बुझ्नुभएको थियो । तर पछि रजिष्ट्रेसन फारम नहुँदा प्रवेश पत्र नआएको भन्नुभयो । मलाई लाग्छ स्कुलले विभिन्न कारण देखाउदै मेरो विवरण नपठाउँदा यस्तो भएको होला ।’
अभिभावकको पनि लापरबाहि
आफ्ना अभिभावकले सरकारी विद्यालयबाट राम्रो हुन्छ भनेर आफुले केहि समय सरकारी विद्यालयमा भर्ना भएको र यता आफु अध्ययनरत विद्यालयले हेलचेक्राई गर्दा आफु एसईई दिनबाट बञ्चित हुनुपरेको उनको दुखेसो छ । ‘अभिभावकले भन्नुभएअनुसार सरकारीमा पनि गए’ उनी भन्छिन्, ‘त्यहाँको पढाई ठिक नलागेपछि मैले बोर्डिङबाट नै एसईई दिने भनेर १० कक्षामा फेरी म यता आए । त्यतिबेला प्रिन्सिपलले पनि सरकारीबाट एसईई दिने भए भर्ना गराउदिन भन्नुभाथ्यो । म बोर्डिङबाट एसईई दिन राजी भएपछि भर्ना गराउनु भएको थियो । तर अहिले प्रवेश पत्र नै रोक्नुभएको रहेछ ।’
निशाका अभिभावकले छोरीलाई सरकारी विद्यालयबाट एसईई दिन प्रेरित गराएका थिए । सोहि कारण निशाका बुवा गिरीधर राय यादवले उनलाई कक्षा ९ मा नजिकैको सरकारी विद्यालय श्री दास जनता माध्यामिक विद्यालयमा भर्ना गराएका थिए । तर निशालाई भने सरकारी विद्यालयको पढाई उचित लागिरहेको थिएन । कक्षा ९ को पढाई सरकारीबाट पुरा गरेपनि कक्षा १० मा भने उनी पुन सोहि बोर्डिङमा भर्ना भएकी थिइन् ।
एसईई प्रक्रियाबारे प्राधानध्यापक र आफुविच स्पष्टता नहुँदा आफ्नी छोरीले दुख पाएको पिडित छात्राका बुवा गिरीधर राय बताउँछन् । ‘छोरीले बोर्डिङमै अध्ययन गर्दैथियो । आर्थिक स्थिती र अन्य कारणले सरकारीमा भर्ना गराइदिएको थिए । तर छोरीले २ महिना भन्दा बढी सरकारी स्कुलमा पढ्न मानेन । यता निजि स्कुलको प्रिन्सिपलले पनि सरकारी र निजी दुइतिर एउटै विद्यार्थी भर्ना हुन पाउदैन भनेपछि छोरीको इच्छाअनुसार सरकारीबाट त्यहि सारेको थिए ’ उनी सुनाउँछन्, ‘र छोरीलाई फारम भरे ÷नभरेकोबारे सोध्दा उनले पनि प्रवेश परिक्षाको फारम भरिसकेको र सरकारीबाट कुनैपनि प्रक्रिया अघि नबढाउन भनिन् । त्यति भनेपछि म पनि ढुक्क थिए । प्रवेश पत्र नै नआएपछि भने तनाव भयो । प्रिन्सिपलले छोरीले भरेको फारम जिल्लामा नपठाएको रहेछ । हामीले सबै पैसा पनि बुझाइसक्यो । त्यतिबेला पनि विद्यालयले हामीलाई जानकारी दिएन । हामीले सरकारी विद्यालयबाट रजिष्ट्रेसन पनि लिएका छैनौ ।’
विद्यालयका प्रिन्सिपलको लापरबाहि र आफ्नो कार्य व्यस्तताका कारण आफ्नी छोरी एसईई छुटेको उनी बताउँछन् । ‘प्रिन्सिपलले फारम पठाउन बिर्से भन्नुभयो । उहाँको चरम लापरबाहिले यस्तो भयो । मैलेपनि यता वडाको कार्यव्यस्तताले छोरीको पढाई र एसईईबारे के कस्तो तयारी छ भन्ने कुरामा ध्यान दिन पाएको थिइन्’ उनी भन्छन्, ‘कार्य व्यस्तताले आफ्नै छोरीको एसईई रोकियो । छोरी तनावमा छ । छोरीको एसईई एकवर्ष पछाडि धकेलियो । तर केहि छैन अर्को वर्ष तयारी गर्न पठाउँछु ।’
विद्यालयबाट छोरीको पढाइ समाप्त हुनुअगावै निशाका बुवा गिरीधर रायले विद्यालयले तोकेको शुल्क बमोजिम सबै शुल्क तिरिसकेका थिए । सबै शुल्क तिरिसक्दासमेत विद्यालय प्रशासनले आफुहरुलाई जानकारी नदिदा एउटा विद्यार्थीको भविष्यमा खेलवाड भएको उनी बताउँछन् ।
गिरीधर राय स्वयम् कविलाशी नगरपालिका वडा न ४ का वडाध्यक्षसमेत हुन् । उक्त घटनामा स्थानीहरुले एजुकेसन सेकेण्डरी स्कुल घेराउ गरेका थिए । तर केहि हुल भने इलाका प्रहरी कार्यालय समेत पुगेको थियो । तर माहोल भड्किन नदिन आफैले पहल चालेको समेत वडाध्यक्ष रायको भनाई छ । ‘हिजो मात्र २ सय जनाको भीड स्कुल घेर्न गएको थियो’ उनी भन्छन्, ‘प्रहरी प्रशासनमा पनि मान्छेहरु पुगेका थिए । तर मेरै पहलमा माहोल शान्त भएको छ । आगामी दिनमा यस्ता लापरबाहि हुनुभएन ।’
विद्यालय भन्छ, ‘हाम्रो गल्ती छैन’
हाल एजुकेसन सेकेण्डरी स्कुलका प्राधानाध्यापक (प्रिन्सिपल) शिवलाल महतो उपचारको लागि भारतको चेन्नई पुगेका छन् । यसबारे विद्यालय प्रशासनसँग बुझ्दा आफ्नो गल्ती नभएको बताउदै आएको छ । ‘
ति छात्राले आफ्नो विद्यालयमा पढेपनि परिक्षा र अन्य प्रक्रिया भने सरकारी विद्यालयबाट अघि बढाएकोले आफुहरुले वास्ता नगरेको विद्यालय प्रशासनकी कर्मचारी सोनु कुमारी महतोले बताइन् । ‘उहाँले ८ कक्षाको परिक्षा हाम्रो स्कुल र सरकारी स्कुलबाट दिनुभएको थियो’ उनी भन्छिन्, ‘कक्षा ९ मा रजिष्ट्रेसन फारम खुल्दा ति छात्राको बुवाले सरकारी विद्यालयाम भर्ना गराउनुभएको थियो । यता भर्ना पनि नभएको र केहि समय पढ्न पनि नआएपछि हामीलाई उनले यो विद्यालय छोडेको हो भन्ने लाग्यो । र अरु प्रक्रिया अघि बढाएनौ । उनको एसईई रोकिनुमा हाम्रो कुनै दोष छैन ।’