‘सिटिजन बैंकले ‘नक्कली वकिल’ लगाएर विशालनगरको करोडौँ पर्ने २ रोपनी घर जग्गा यसरी हत्यायो’

दियो पोस्ट  

काठमाडौं । पूर्वप्रधानमन्त्री सुर्य बहादुर थापाका तत्कालिन स्वकिय सचिव तथा लेखक श्रीजिपी शर्माले आफ्नो सम्पत्ति विभिन्न व्यक्ति र समुह मिलेर हत्याइएको बताएका छन् । सिटिजन बैंकका पूर्व सिइओ राजन सिंह भण्डारी, नक्कली अधिवक्ता खगेन्द्र बोहरा, उनका पुत्र सौगात बोहरा र विभास प्रोपर्टी नामका कम्पनिका मालिक विनोद ताम्राकारको मिलेमतोमा आफ्नो बालुवाटारमा रहेको २ रोपनी जग्गा र ३ करोड ४० लाख मुल्यपर्ने घर हत्याइएको बताएका हुन् ।
दियोपोस्टसँग लामो अन्तर्वार्ता दिँदै उनले आफूमाथि राज्यकै विभिन्न शक्ति केन्द्रले अन्याय गरेको गुनासो गरे । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल समेतको निर्देशनमा सर्वोच्च अदालतको आदेशलाई समेत लत्याएर आफ्नो घर माफियाहरुले कब्जा गरिएको उनको भनाई छ ।

उनले दियोपोस्टसमक्ष सुनाएको बयान जस्ताको तस्तै :

 

म श्रीजिपी शर्मा कुनैबेला पत्रकार थिएँ । २०३६ सालमा जब सुर्यबहादुर थापा प्रधानमन्त्री बने । म पनि उहाँको स्वकिय सचिव बनेँ । त्यसपछि मैले पत्रकारिता गर्न पाइनँ । उहाँ प्रधानमन्त्रीबाट निस्किएपछि उहाँको काममा म लागिरहनु परेनँ । बहुदल लाग्यो मैले सहयोग गरेँ । नुवाकोटबाटै पार्टी गठनमा सहयोग गरेँ । सबै लोकेन्द्रबहादुर तिर लागे । नुवाकोटबाट उहाँको तर्फबाट पार्टी खोलेँ र सल्लाहकार भएर बसेँ । त्यहाँबाट म अगाडि बढ्न सकिनँ । काम केही थिएनँ । म सामाजिक सेवा तिर लागेँ ।

एउटा भाइले भन्यो,‘स्क्याभेटर चलाउँ न दाई, पैसा आउछ ।’

‘म लेखक हुँ । मलाई यो कुनै ज्ञान छैन । कलम चलाउने मान्छे हुँ बरु मेरो एउटा इच्छा के छ भने मेरो विशालनगरमा २ रोपनी जग्गा छ । त्यहाँ प्रेस खोल्छु,’ मैले भनेँ ।

 

यही प्रोजेक्टका लागि भनेर हरिभक्त शर्मासँग भेट भयो । शर्मा मार्फत फेरी कृष्ण केसी भन्ने व्यक्तिसँग भेट भयो । उनीहरुले चण्डेश्वरी निर्माण सेवा भन्ने कम्पनि लिएका रहेछन् । त्यो नविकरण रहेनछ । तर मलाई नै त्यो कम्पनिमा समावेश गराउनका लागि नविकरण भएछ । मलाई २० प्रतिशत सेयर दिए । उसले मलाई भन्यो एक वर्षमा पैसा उठिहाल्छ । तिमी प्रेस बनाउ म प्रोजेक्ट बनाइदिन्छु । जिम्मेवारी मेरो हो ।’ खै के भो मलाई हत्तपत्त मैले हुन्छ भनेछु ।

मैले ६ वर्षसम्म उनैसँग सहकार्य गरेँ । कम्पनिको सबै काम हरिभक्तले गरे । तर, उनी त प्रिमियर फाइनान्सको दलाल पो रहेछन् । उनले मेरो जग्गा राखेर तत्कालिन प्रिमियर फाइनान्स हाल सिटिजन बैंकबाट एक करोड १० लाख रुपैयाँ ऋण झिक्ने र स्क्याभेटर चलाएर नाफा कमाउने उद्देश्य बन्यो । त्यतिबेला मेरो जग्गा भाउ आनाको १० लाख रुपैयाँको दरले भाउ चलेको थियो । तर, उनीहरुले जग्गाको मुल्यांकन निकै कम गरे । प्रति आना एक लाख ५० हजारदेखि ६० हजार रुपैयाँसम्म । उनीहरुले राजश्व बढि तिर्नुपर्ने भन्दै कम मुल्यांकन गराएका रहेछन् । जम्मा साढे २ करोड मुल्यांकन भएको थियो । जम्मा १ करोड ४८ लाख रुपैयाँ ऋण निकालेर स्क्याभेटरलाई दिए । १ करोड ६० रुपैयाँ ऋण स्विकृत भएको थियो ।

उनीहरुले उक्त स्क्याभेटर लिएर सप्तरी गए । फाइनान्सलाई मासिक २ लाख ब्याज बुझाउनु थियो । चार महिना बित्यो फाइनान्सलाई नियमित सावाँब्याजका लागि पैसा आएन । विभिन्न बहानाबाजी भएपछि म दौडिएर सप्तरीको चन्द्रनगर पुगेँ । त्यहाँ सडक निर्माणको ठेकेदारसँग ४५ लाख रुपैयाँ लिएर उनीहरु हिँडेछन् ।

 

मलाई २ लाख रुपैयाँ पनि दिएनन् । म झस्किएँ । त्यहीँबाट फाइनान्सलाई फोन गरेँ । फाइनान्सले नाटकीय जवाफ दियो,–‘त्यस्तो बदमासी गरेछन् । उसो भए यहाँ आउ एउटा कम्पनी रजिष्ट्रर गरेर जाउ । तिम्रो नाममा ऋण सारिदिन्छु तिमी नै तिर जग्गा तिम्रो छ ।’

अब के गर्ने ?

फसियो नजाने पनि काम गर्छु भनेर दौडेर आएँ । २२ हजार रुपैयाँ खर्चिएर जेमिनी भन्ने कम्पनी रजिष्ट्रर गरेँ । म उक्त फाइनान्समा निवेदनसहित गएँ । तर, उनै दलाल हरिभक्त शर्माले मलाई आजभोली भन्दै झुलाइरहे । ऋण लिने प्रयोजनका लागि मैले निवेदन दिएँ । म सप्तरी जाँदा गाउँलेले पनि साथ दिए । स्क्याभेटर मेरो कम्पनिमा ल्याउने कोशिस पनि भयो । तीन वटा स्क्याभेटर चल्यो भने महिनाको २० लाख कमाई हुन्थ्यो । तर, ८ महिनादेखि ९ महिनासम्म चल्ने ३ महिना भने नचल्ने रहेछ ।

यता म फसिसकेको थिएँ ।

मेरो नामको जग्गा राखेर उनीहरुले स्क्याभेटर चलाए । म ऋणमा मात्रै फसेँ । तर, मेरो प्रयास उक्त स्क्याभेटर मेरो कम्पनिमा सार्नमा थियो । उनीहरुले मानेनन् । त्यसपछि मलाई फाइनान्सले ऋण नतिरेको भन्दै चिठी लेख्न थाल्यो । फाइनानसका अधिकारीले फेरी मलाई ५५ लाख रुपैयाँ ऋण दिन्छु त्यसैले स्क्याभेटर किनेर काम गर भन्ने प्रस्ताव गरे । मैले उक्त ५५ लाखको ऋणमा हस्ताक्षर गरेँ । म थप ५५ लाख ऋणी भएँ । त्यो त मलाई स्क्याभेटर किन्न भन्दापनि ब्याज मिलान गर्नकालागि हस्ताक्षर गराएको रहेछ । मैले पैसा पाइनँ त्यो सोही फाइनान्सले नै ब्याज मिलान गर्यो । त्यतिबेला नै मेरो श्रीमतीको नाममा २० लाख रुपैयाँ थप ऋण गरेर पनि ब्याजकै मिलान गरियो । त्यसमा मेरो ठूलो छोरालाई पनि हस्ताक्षर गराइयो । यता ऋण दिइरहेको थियो । त्यतिनै बेला हाम्रो जग्गा लिलामीमा जाने सुचना प्रकाशित भयो । ७० सालमा यो जग्गा फाइनान्सको नाममा लाने भनेर चिठी आयो । त्यसपछि मैले झगडा गरेँ । त्यतिबेला फाइनान्सले तिम्रो जमिन धितो छ तिमीलाई नै समाउने हो । अरुको जमिन छैन भन्दै धम्की दियो । त्यतिबेलासम्म प्रिमियर फाइनान्स सिटिजन बैंकमा गाभिएको थियो । सिइओ थिए–राजनसिंह भण्डारी । भण्डारीलाई विभिन्न माध्यमबाट भनसुन गराएँ । तत्कालिन मन्त्री शरदसिंह भण्डारीको नातेदार रहेछन् । उनलाई पनि भनेँ । तत्कालिन सिटिजन बैंकका सिइओ भण्डारीलाई फोन गरिदिएपछि म सिइओलाई भेट्न गएँ । तर, सिइओ भण्डारीले पहिला पैसा जम्मागर्नुस् नत्र केही हुँदैन किन भने शरतसिंहले यहाँ दिनको १० जना मान्छे पठाउँछ क–कसको काम गरिदिने ? भन्ने जवाफ दिए । राजनसिंह पंचायतकै पालामा राष्ट्र बैंकको जागिरे रहेछ ।

 

म लिलामी विरुद्ध उजुरी लिएर राष्ट्र बैंक पुगेँ । त्यतिबेला राष्ट्र बैंकले ‘ऋणी श्रीजिपी शर्माले मात्रै किन तिर्नुपर्ने ? अन्य ऋणीले किन तिर्नुनपर्ने ? भनेर प्रश्न गरिदियो । त्यतिबेला लिलामी गर्दा एकल शेयरधनी भनेर मेरो मात्रै नामको जग्गा खाने नियत राखिएको थियो । मलाई त्यो चिठी चित्त बुझेको थियो । राष्ट्र बैंकले न्याय गर्दोरहेछ भन्ने विश्वास बढेको थियो । तर, राष्ट्र बैंकलाई पनि जवाफ दिएनन् ।

अर्को दिन राष्ट्र बैंकले छलफल राख्यो । तत्कालिन डेपुटी गभर्नर शिवराज श्रेष्ठ हुनुहुन्थ्यो उहाँले तपाईंको माग के छ भनेर सोध्नुभयो । मैले भनेँ,‘तपाईंले लेख्नु भएको चिठीको जवाफ मलाई चाहियो । तर, मिटिङमा कसैले केही बोलेनन् । राष्ट्र बैंकमा भएको राजन सिंह भण्डारीले ६ महिनाको समय दिन्छु भनेका थिए । ६ महिनापछि फेरी चिठी लेखिएछ । तर, मलाई त्यो चिठी आएन । उनीहरुले लिलामी गरेछन् । र बैंककै नाममा दाखिल खारेज गरेर राखेछन् । लिलामीको सारा प्रक्रिया अपनाउँदा मलाई कुनै थाहा दिएन । लिलाम सकार्ने अधिकार पनि मलाई नै हुन्थ्यो त्यो पनि मलाई थाहा दिएन । २०७४ सालमा मैले त्यस विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा हालेँ । २०७५ सालमा मुद्दा चल्दाचल्दै विवाष प्रोपर्टी नामको कम्पनिलाई विक्री गरेछ । तामाको काम गर्ने विनोद ताम्राकारको कम्पनि रहेछ । यो मान्छे दुई नम्बरी रहेछ । पाटन औद्योगिक क्षेत्रमा कारखाना रहेछ । खगेन्द्र बोहरा भन्ने नक्कली अधिवक्ता, उनका छोरा सौगात बोहरा, राजन सिंह भण्डारी र विनोद ताम्राकार मिलेर मेरो जग्गा खाइदिए । मुद्दा चल्दाचल्दै यो जग्गा विक्री भएछ । चार करोड ६५ लाखमा विक्री गरिएछ । मेरो नाममा जति ऋणी बनाइयो त्यो बनाइएको मात्रै हो । मैले कतैबाट एक पैसा खाएको छैन ।

जिल्ला अदालतमा मुद्दा चल्दा चल्दै मेरो घर सहितको जग्गा लिलाम विक्री भयो । मैले जिल्ला र उच्च अदालतमा मुद्दा हालेँ । दुवै अदालतमा बैंकलाई जिताइयो । तर, ती दुवै अदालतबाट न्याय नपाएपछि मैले यो मुद्दा दोहोर्याइ पाउँ भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेँ । सर्वोच्च अदालतले मुद्दा दोहोर्याइ पाउँन आदेश दियो । त्यतिमात्रै होइन २०७९ साल फागुन १७ गते उक्त जग्गा जमिन नचलाउनु भन्ने अन्तरिम आदेश समेत दियो । तर, कानुनी राज नभएको मुलुकमा सर्वोच्च अदालतको आदेश विपरित मेरो घर जग्गामा महानगरपालिकाले डोजरसहितको प्रहरी ल्याएर मलाई र मेरो श्रीमतीलाई आक्रमण गरि घरबाट निकालियो । विभास प्रोपर्टीले सर्वोच्चमा मुद्दा परिरहेको विषयलाई झुक्याएर महानगरमा निवेदन दिएछ । त्यही निवेदनको आधारमा महानगर प्रहरीले मेरो घर खाली गरायो । काठमाडौं महानगरपालिकाका उपप्रमुख तथा न्याय समिति प्रमुख सुनिता डंगोलले सर्वोच्चको निर्णय नै नहेरी घर खाली गरिदिनु भन्ने आदेश दिनु भएछ । उहाँमाथि अदालतको अबहेलनामा कारबाही माग गर्दछु । म वृद्ध र मेरी ५७ वर्षिय श्रीमतिमाथि हातपात भएको छ । नगरप्रहरीको हुलदंगाले हात पनि भाँचिएको थियो । नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले मेरी श्रीमतीमाथि पनि हातपात गरे । मैले अवहेलनामा कारबाही माग गरेर निवेदन दिएँ । मैले मागे अनुसारको आदेश भएको छ । मैले १८ जना प्रतिवादीलाई मुद्दा हालेको छु । तर, राती नै मेरो घरमा डोजर लगाइयो र भत्काइयो । नछुनु र नचलाउनु र सम्पत्ति फिर्ता दिनु तथा यथास्थानमै बस्न दिनु भनेर आदेश भएको छ ।

मेरो नागरिकता पनि लुटियो

मलाई त्यहाँबाट निकालिएको भिडियो काठमाडौंका सिडिओसापले हेर्नु भएको रहेछ । मेरो नागरिकता समेछ छैन । ममाथि भएको अन्यायको विरोध सिडिओसापले पनि गर्नुभयो । अहिले जहाँ उजुरी गर्न जाँदा पनि नागरिकता माग्छन् । निवेदन समेत दिन मिलेको थिएन । अहिले सिडिओले आदेश दिएर नागरिकता बनेको छ । एक सरो कपडा मात्रै छ । त्यो पनि मेरी सालीले किन्दिएको हो । एकजोर जुत्ता मात्रै छ । त्यही लगाएर बाँचेको छु ।

तस्बिरमा देखिएका व्यक्ति साैगात बाेहरा हुन्

मेरो के–के लुटियो ?

मेरो घरको मात्रै ३ करोड ५० लाखको मुंल्यांकन थियो । जुन मैले धितोमा राखेको छैन । तर, त्यो घर भत्काइयो । ९० लाखको त सामान क्षति भएको छ । मैले अदालतमा पनि ४ करोड ४० लाख रुपैयाँ क्षति भएको विवरण बुझाएको छु । म हिजो सुर्यबहादुर थापाको सचिवालयमा बसेको मान्छे । ३६ वटा भन्दा बढी पूस्तक लेखेको छु । त्यस्तो मान्छेमाथि यतिधेरै अन्याय भयो । आम मानिसले कस्तो भोग्नुपर्ला ? अहिले मलाई यस्तो मात्रै लाग्छ । मलाई जस्तै दुख अरुले भोग्न नपरोस् ।