
काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । उनलाई उद्धार गरी अस्पताल पुर्याइएको छ । उनको उपचार कीर्तिपुरको बर्न अस्पतालमा भइरहेको छ ।
उत्तम कार्की नामका एक युवाले मङ्गलबार राति फेसबुक पेजमा लाइभ गरी आफ्नो शरीरमा आफैँ आगो लगाएका थिए । हात र अनुहार जलेका उनलाई उद्धार गरी अस्पताल पुर्याइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
उनले फेसबुक लाइभमा स्थानीय एक युवतीले मानसिक तनाव दिएको, उनकै कारण आफू पक्राउ परेको, पारिवारिक सम्बन्ध बिथोलिएको, प्रहरीले आफ्नो कुरा नसुनेको र यी सबै कारणले कान नसुन्ने बुवा र आँखा नदेख्ने आमाले दुःख पाएको भन्दै अब बाँच्न नसक्ने बताएका थिए ।
कार्कीले ती युवतीको उजुरीका आधारमा यसअघि आफू १८ दिन हिरासतमा बसेको र अभद्र व्यवहार मुद्दा खेपेको पनि उल्लेख गरेका छन् । आफूमाथि लागेको गलत आरोपका कारण कान नसुन्ने बुवा र आँखा नदेख्ने आमाले दुःख पाएको भन्दै अब बाँच्न नसक्ने पनि फेसबुक उनले लाइभमा बताएका थिए ।
कार्कीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ ।