काठमाडौं । गायक दुर्गेश थापाले भोलिदेखि सुरु हुन लागेको एसईई परीक्षाको अवधिभरि सांगीतिक कार्यक्रम नगर्ने घोषणा गरेका छन् । परीक्षा दिने विद्यार्थीहरुलाई डिस्टर्व हुन सक्ने भन्दै उनले यस्तो निर्णय लिएका हुन्
एक विज्ञप्ति जारी गर्दै दुर्गेशले आफूलाई अहिले धेरै कार्यक्रमका लागि अफर आइरहेको भए पनि त्यसलाई स्वीकार्न नसक्ने बताएका छन् । एसईई अवधिभरका लागि आफूलाई निमन्त्रण नगर्न उनको अुरोध छ ।
उनले लेखेका छन्, ‘एसईई परीक्षा हाम्रो जीवनको महत्वपूर्ण घडी हो । केवल मनोरञ्जनमा मात्र होईन उज्ज्वल भविष्यका लागि पनि म सधैं हजुरहरुकै साथमा हुनेछु । यतिबेला मलाई धेरै मेला, महोत्सव तथा ईभेन्टबाट कार्यक्रमका लागी कल आईरहेको छ । तर यदि म कार्यक्रम गर्दै हिडेँ भने त्यसले पढाइलाई डिस्टर्ब गर्छ, ध्यान भंग गर्छ, अनि भविष्यमा असर पार्न सक्छ । यी कुराहरुलाई मध्यनजर गर्दै, एसईई परीक्षा अवधिभर मैले कुनै पनि कार्यक्रम नगर्ने घोषणा गर्दछु । साथै परीक्षा अवधिभर सञ्चालन हुने कार्यक्रमको लागी मलाई सम्पर्क नगरिदिनुहुन सम्पूर्णमा अनुरोध गर्दै यसबाट आयोजकलाई पर्न गएको असुविधा प्रति क्षमा चाहान्छु ।’