काठमाडौं । अनेरास्ववियुले दायर गरेको मुद्दामा उच्च अदालत पाटनले दिएको आदेश अनुसार अमृत साइन्स क्याम्पसमा चैत १० गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुँदैछ । चैत ५ गतेका लागि तोकिएको निर्वाचन अन्तिम समयमा स्थगित भएपछि स्थगित निर्वाचन तत्काल सुचारु गराउन माग गर्दै अनेरास्ववियुले उच्च अदालत पाटनमा मुद्दा हालेको थियो । अदालतले यथाशीघ्र चुनाव सम्बन्धी बाँकी कार्य पुरा गर्न भन्दै अन्तरिम आदेश जारी गरेपछि क्याम्पसले चैत १० गते निर्वाचन जारी गराउने मिति जारी गरेको हो ।
तर, तत्काल चुनाव गराउन भन्दै उच्च अदालत पुगेको अनेरास्ववियूका उम्मेदवारहरु भने विभिन्न आपराधिक घटनामा संलग्न भएकाहरु रहेको भेटिएको छ । अनेरास्ववियुका उम्मेदवारहरुमाथि लिखित कीर्तेदेखि ज्यान मार्ने उद्योगसम्मका मुद्दा छन् । उनीहरु प्रहरी हिरासतमासमेत बसेर बाहिर निस्किएका व्यक्तिहरु रहेको खुलेको छ ।
कीर्ते र ज्यान मार्ने उद्योगमा संलग्न पोखरेल अध्यक्ष उम्मेदवार
अमृत साइन्स क्यनाम्पसमा अनेरास्ववियुको तर्फबाट रुद्रहरी पोखरेल अध्यक्षको उम्मेदवार रहेका छन् । उनी एमएससी तेस्रो वर्षमा अध्ययनरत छन् । अनेरास्ववियु अमृत साइन्स क्याम्पसका निवर्तमान अध्यक्षसमेत रहेका उनको घर ओखलढुंगा हो । क्याम्पसको शैक्षिक उन्नयनका लागि भन्दै स्ववियुको अध्यक्ष पदमा उम्मेदवारी दिएका उनको विगत भने राम्रो छैन । २०७९ सालको सीएसआईटी भर्नामा उनले क्याम्पस प्रमुख लोक बहादुर बरालको हस्ताक्षर कीर्ते गरेका थिए ।
यस्तै उनले सीएसआईटी भर्नाका क्रममा क्याम्पसको स्ट्यामसमेत दुरुपयोग गरेर मेरिट लिस्ट निकालेका थिए । त्यस क्रममा पोखरेलले ६३ स्कोर प्राप्त गरेका अनुपम सुवेदी, बाबुराम बिष्ट, सन्देश कटवाल र शिभन राईको नाम केरमेट गरिएको थियो ।
यहि लिखित कीर्ते सम्बन्धि मुद्दामा पोखरेल सोह्खुट्टे प्रहरी हिरासतमा २४ दिन बसेका थिए । अनेरास्ववियुको तर्फबाट स्ववियु अध्यक्ष उम्मेदवार पोखरेलको विगत यत्तिमा मात्रै सिमित छैन । उनी पटक–पटक ज्यान मार्ने उद्योग मुद्दामासमेत पक्राउ परेका व्यक्ति हुन् ।
क्याम्पस प्रमुख बरालको हस्ताक्षर कीर्ते गरेर क्याम्पसको स्ट्याम्पसमेत दुरुपयोग गरेरु सीएसआईटीको मेरिट लिस्ट निकालेको अभियोगमा पोखरलविरुद्ध प्रहरीमा जाहेरी परेको थियो । यो मुद्दा फिर्ता गराउनका लागि स्ववियु उम्मेदवार पोखरेलले भौतिक आक्रमण नै गर्न लगाएका थिए । पोखरेलकै निर्देशनमा क्याम्पसका उपप्राध्यापक तथा विद्यार्थी कल्याण प्रमुख दिवाकर पाण्डेमाथि भौतिक आक्रमणसमेत भएको थियो ।
पाण्डेले क्याम्पस प्रमुखलाई लेखेको निवेदन अनुसार बिएससीआईटी छैटौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थी अनेरास्ववियुका पंकज पाण्डेले जिटी हल सँगैको दक्षीणतिरको कोठामा लगेर प्रमुख पाण्डेमाथि हातपात गरेका थिए । कमलराज जोसी र रुद्रहरी पोखरेलको नामको मुद्दा फिर्ता गर्न भन्दै पंकजले उपप्राध्यापक पाण्डेमाथि अश्लील शब्द प्रयोग गर्दै हातपात गरेका थिए । त्यसक्रममा उपप्राध्यापक पाण्डेलाई ज्यान नै लिनेसम्मको प्रयास भएको थियो । भौतिक आक्रमणकाम क्रममा उपप्राध्यापक पाण्डेको छाति, बायाँ हात र बायाँ खुट्टामा चोट लागेको थियो ।
सचिव उम्मेदवार गोपाल शाहीमाथि ज्यान मार्ने उद्योग
अनेरास्ववियुलले अस्कल क्याम्पसको सचिव पदमा गोपाल बहादुर शाहीलाई सचिाव पदको उम्मेदवार बनाएको छ । अध्यक्ष पदका उम्मेदवार पोखरेल जस्तै सचिव पदका उम्मेदवार शाहीको विगत पनि विवादित छ । उनी केही दिनअघि मात्रै ठमेलमा प्रहरी कुटेर हिरासत बसेर बाहिर निस्किएका पात्र हुन् ।
यस्तै समानुपातिक तर्फका उम्मेदवार रमेश फुलारा पनि ज्यान मार्ने उद्योगमा प्रहरी हिरासत बसेर बाहिर निस्किएका पात्र हुन् ।