एकैदिन गणतन्त्र पक्षधर र राजतन्त्र पक्षधरको एकै सहरमा प्रदर्शन : शान्ति सुरक्षा के हुन्छ ?

दियोपोस्ट संवाददाता  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको नेतृत्वमा भोली अर्थात चैत्र १५ गते मुलुकको राजधानी काठमाडौंको भृकुटिमण्डपमा गणतन्त्रको पक्षमा प्रदर्शन हुँदैछ । ठीक त्यसैदिनलाई पारेर मुलुकको राजधानी काठमाडौंमै राजतन्त्र पक्षधरले प्रदर्शन गर्दैछ ।

राजावादी नेता रविन्द्र मिश्रका अनुसार चैत्र १५ गते काठमाडौंमा राप्रपासहितका पार्टीहरुले जनप्रर्शनको घोषणा गरेका छन् । राजतन्त्र फर्काउने आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाइँका अनुसार कोटेश्वरको तिनकुनेमा राजावादीको जनविद्रोह कार्यक्रम हुँदैछ ।

जुलुश सुरु हुने रुटबारे समाजवादी मोर्चाले सार्वजनिक गरेको सुची अनुसार ११ स्थानबाट विभिन्न पार्टीको नेतृत्वमा जुलुश शुरु हुँदैछ । यसले सो क्षेत्रमा झडप हुन सक्ने र तनावपूर्ण स्थिति उत्पन्न हुने अवस्था छ ।

एकैदिन मुलुकको राजधानीमा दुई विपक्षी धारको प्रतिनिधित्व गर्ने समुहको कार्यक्रम गर्न कसले अनुमति दियो भन्ने अर्को प्रश्न छ । गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले रुट के कताबाट शुरु हुने भनेर जिल्ला प्रशासन कार्यालय काठमाडौंले नै तय गर्ने बताए ।

दुवै पक्षलाई रुट दिइएको छ : एसएसपी अधिकारी

जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक विश्व अधिकारीले प्रदर्शनकारी दुवै आयोजक पक्षले जिल्ला प्रशासन कार्यालयमा ठाउँ र रुटबारे अनुमति लिएपछि सोही अनुमति लिएको स्थानमा कार्यक्रम गर्न दुवै पक्ष मञ्जुर छन् ।

 

‘दुवै पक्षसँग हाम्रो समन्वय भएको छ । सिडिओसाप लगायतको टिमले समन्वय गर्नुभएको छ । दुवै पक्षलाई आ—आफ्नो रुट दिइएको छ,’ अधिकारीले दियोपोस्टसँग भने,‘काटेश्वरबाट आउने जुलुश बानेश्वर भएर आउनुहुन्न किनकी बानेश्वर मै निषेधित क्षेत्र तोकिएको छ । तिनकुनेको रुटमा समाजवादी आउनु हुन्न । उहाँहरु करिडोरको बाटो भएर आउनुहुन्छ । त्यसमा दुवै पक्ष सहमत भएका छन् । त्यसलाई हामीले समन्वय गरिएको छ ।’

आम मान्छेको आवागमनलाई कसरी व्यवस्थित पारिन्छ भन्न दियोपोस्टको प्रश्नमा अधिकारीले भने,‘स्वभावैले यस्तो अवस्थामा प्रभावित हुन्छन् नै । त्यसका लागि पनि हामीले डाइभर्सन मिलाएका छौँ । प्रदर्शनी मार्गको बाटो डिस्टर्भ हुने भयो । तिनकुनेको पनि प्रभाव पार्छ । सर्वसाधारणलाई एक सय तीनमा सम्पर्क गरि ट्राफिकसम्बन्धी जानकारी लिन भनेका छौँ ।’

दुवै पक्ष आमने सामने हुने अवस्था आए शान्ति सुरक्षामा गम्भिर चुनौती : मानव अधिकार संगठन

नेपाल मानव अधिकार संगठनले चैत्र १५ गते उपत्यकमा शक्ति प्रदर्शनमा गर्न लागेको विषयमा ध्यानाकर्षण गरेको छ । अध्यक्ष ईन्द्र प्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा दुवै पक्ष आमने सामने हुने स्थिति भएमा त्यसबाट उत्पन्न हुने परिस्थितिले शान्ति सुरक्षामा गम्भीर चुनौती थप्न सक्ने उल्लेख छ ।

 

सिफारिस