काठमाडाैं । दक्षिणकाली नगरपालिका वडा नं. ५ ईखापोखरी टोलमा दलित समुदाय जीवन्त संग्रहालय भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । यस संग्रहालयको उद्देश्य पुर्खाद्वारा अर्जित परम्परागत सीप र कलालाई जीवन्त राख्नु, अध्ययन, अनुसन्धान तथा अवलोकन केन्द्र निर्माण गर्नु, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्नु तथा दलित समुदायले भोग्दै आएको शोषण, दमन, र जातीय विभेदको ऐतिहासिक दस्तावेजीकरण गर्ने रहेको छ ।
यस ऐतिहासिक महत्वको संग्रहालय निर्माणका लागि दक्षिणकाली नगरपालिकाका नगर प्रमुख, उप–प्रमुख, वडा अध्यक्ष, वडा सदस्य, विभिन्न राजनीतिक दलका जनप्रतिनिधि, बागमती प्रदेश पर्यटन मन्त्रालय, स्थानीय सरकार, विभिन्न संघ–संस्था तथा टोलवासीहरूको महत्वपूर्ण योगदान रहेको छ ।
शिलान्यास समारोहमा विशेष अतिथिका रूपमा बागमती प्रदेशका पूर्व पर्यटन मन्त्री पुकार महजन,समाजिक अभियान्ता दिनेश परियार, र समाज सेबि दिलिप कुमार नेपाली उपस्थित थिए । आयोजक संस्थाले उहाँहरूलाई विशेष धन्यवाद ज्ञापन गरेको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष श्याम कुमार मङ्रगातीले भने, ‘आज यस ऐतिहासिक कार्यको शुभारम्भ भएको छ । अब यसलाई पूर्णता दिनु हाम्रो सबैको सामूहिक जिम्मेवारी हो । आउनुस्, हामी सबै मिलेर हातेमालो गरौँ र यो अभियानलाई सफल पारौँ।’
यस संग्रहालयले दलित समुदायको इतिहास, संघर्ष, र संस्कृतिलाई उजागर गर्ने लक्ष्य राखिएको छ । स्थानीय सरकार तथा समुदायको सहकार्यमा संग्रहालयको निर्माण कार्य चाँडो सम्पन्न गरिने योजना रहेको छ ।