काठमाडौँ । म्यानमारको सागिङ सहरमा केन्द्रविन्दु भई म्यानमार र थाइल्यान्डमा शुक्रबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १७ सयभन्दा बढी पुगेको छ। भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी छ। मध्य म्यानमारको सागिङ सहरको उत्तर–पश्चिममा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको र त्यसको केही मिनेटपछि ६.७ म्याग्निच्युडको परकम्प आएको थियो। भूकम्पले भवन, पुल र सडकका साथै १७ लाखभन्दा बढी मानिसको घरमा क्षति पुगेको थियो।
म्यानमारमा कम्तीमा एक हजार ७०० जनाको मृत्यु भएको र करिब दुई हजार ४०० जना घाइते भएको म्यानमार सरकारले विज्ञप्तिमा जनाएको छ। भूकम्पका कारण सञ्चार प्रणाली अवरुद्ध छ। मृतकको संख्या अझै बढ्ने आशंका गरिएको छ। विमानस्थल तथा सडक बन्द रहेकाले राहत तथा उद्धार सामग्री पु¥याउने काममा समेत समस्या भइरहेको जनाइएको छ। मध्य म्यान्मारको मान्डलेमा विनाशकारी भूकम्पका कारण ध्वस्त भएको एक अपार्टमेन्ट ब्लकमा भग्नावशेषभित्र ९० जनाभन्दा बढी मानिस फसेको हुन सक्ने रेडक्रसका एक अधिकारीले बताए।
शुक्रबार गएको ७.७ म्याग्निच्युडको भूकम्पबाट सबैभन्दा बढी प्रभावित मान्डलेका भवनमध्ये ‘स्काई भिल्ला कन्डोमिनियम डेभलपमेन्ट’ पनि एक हो। भवनको भग्नावशेषबाट नौजनाको मृत शरीर र ४४ जनालाई जीवितै निकालिएको घटनास्थलमा रहेका रेडक्रसका एक प्रतिनिधिले बताए। उनले भने, ‘९० जनाभन्दा बढी मानिसभित्र हुन सक्छन्। हामी अझै पनि तथ्यांक संकलन गरिरहेका छौँ। हराएका परिवारका सदस्यको खोजी भइरहेको छ।’ शुक्रबारको भूकम्प दशकौँपछिको देशको सबैभन्दा ठुलो हो। भूकम्पका कारण १७ लाखभन्दा बढी जनसंख्या भएको दोस्रो ठुलो सहर मान्डले नराम्ररी प्रभावित भएको छ।