इरानकी ‘अदृश्य’ प्रथम महिला: को थिइन् खामेनीकी पत्नी मन्सुरह?

दियोपोस्ट संवाददाता  

एजेन्सी। दशकौंसम्म इरानका पूर्व सर्वोच्च नेता अली खामेनीकी पत्नी मन्सुरह खोजस्तेह बगेरजादेह (Mansoureh Khojasteh Bagherzadeh) सार्वजनिक नजरभन्दा पूर्णतः टाढा रहिन्। उनको मृत्युको खबर पनि यति ढिलो र अनिच्छापूर्वक सार्वजनिक गरियो कि मानौँ उनी अस्तित्वमै थिइनन्।

आफ्ना पति खामेनीको निधन भएको एक दिनपछि मन्सुरहको पनि मृत्यु भएको छ। उनले आफ्नो अन्तिम समय तेहरानको पास्चर एभिन्युस्थित आफ्नै निवास नजिकैको अस्पतालमा कोमामा बिताएकी थिइन्। रिभोलुसनरी गार्ड्सद्वारा कडा सुरक्षा दिइएको उक्त निवास अहिले ध्वस्त भइसकेको छ।

सन् १९६४ मा मशहदको एक धार्मिक परिवारमा जन्मिएकी मन्सुरहको खामेनीसँग परम्परागत पारिवारिक मागी विवाह भएको थियो। उनीहरूका ६ सन्तान थिए। सन् १९७९ को क्रान्तिअघि जन्मिएका चार छोरा र क्रान्तिपछि जन्मिएका दुई छोरी। तीमध्ये एक छोरी ‘हुदा’को भने खामेनीको घर र कार्यालयलाई लक्षित गरी गरिएको आक्रमणमा मृत्यु भएको थियो।

A file photo of Iran's former supreme leader Ali Khamenei with his four sons

A file photo of Iran’s former supreme leader Ali Khamenei with his four sons

छायाँमा बितेको जीवन

आफ्नो पूरै जीवनकालमा मन्सुरह इरानको शासक वर्गभित्रकै सबैभन्दा रहस्यमयी र निजी पात्रको रूपमा रहिन्। रुहोल्लाह खोमेनीकी पत्नी फखर इरान साघफी वा दिवंगत अकबर हाशेमी रफसन्जानीकी पत्नी एफत मराशीको तुलनामा उनको सार्वजनिक उपस्थिति शून्यप्रायः थियो।

उनको बारेमा सार्वजनिक रूपमा यति कम जानकारी थियो कि उनको मृत्युको खबर फैलिँदा इरानी सञ्चारमाध्यमहरूले उनको आधिकारिक तस्बिर फेला पार्नसमेत संघर्ष गर्नुपरेको थियो। कतिपय सञ्चारमाध्यमले त झुक्किएर अर्का दिवंगत राष्ट्रपति मोहम्मद–अली रजाइकी पत्नी अतेघे रजाइको तस्बिरसमेत प्रकाशित गरेका थिए।

मन्सुरहको विचार वा आवाज केवल दुईवटा पुराना अन्तर्वार्तामा मात्र सीमित छ: एउटा सन् १९९० को दशकको सुरुवातमा ‘महजुबाह’ म्यागजिनसँग र अर्को सन् १९८३ मा ‘जोम्हुरी इस्लामी’ सँग, जुन खामेनीमाथि भएको हत्या प्रयासको केही समयपछि लिइएको थियो।

आफ्नो वैवाहिक सम्बन्धबारे उनले भनेकी थिइन्, “यो कुनै रोमान्टिक कुरा थिएन, उहाँकी बजै हाम्रो घरमा विवाहको प्रस्ताव लिएर आउनुभएको थियो।”

उनले आफ्नो मुख्य भूमिका पतिको राजनीतिक र धार्मिक कार्यका लागि स्थिर पारिवारिक वातावरण तयार गर्नु रहेको बताएकी थिइन्। घरबाहिर पूर्ण हिजाब लगाउनुपर्ने र घरभित्र इस्लामिक सिद्धान्त पालना गर्दै लचिलो पहिरन लगाउन सकिने उनको मान्यता थियो।

किन सधैँ पर्दा पछाडि?

सार्वजनिक जीवनबाट उनको दूरी व्यक्तिगत चाहना मात्र नभई इरानको नेतृत्व वरिपरिको राजनीतिक र धार्मिक संस्कृतिको उपज पनि थियो। खामेनीले धार्मिक, सांस्कृतिक र सुरक्षाका कारणले आफ्नो परिवारलाई सधैँ सार्वजनिक नजरबाट टाढा राखे। कट्टरपन्थी धार्मिक नेता भएकाले उनले आफ्नी पत्नी र छोरीहरूलाई विरलै सार्वजनिक कार्यक्रममा अनुमति दिए, यहाँसम्म कि उनका छोराहरू पनि लामो समयसम्म सार्वजनिक छानबिनबाट सुरक्षित राखिएका थिए।

यद्यपि उनलाई कहिल्यै औपचारिक रूपमा इरानको ‘प्रथम महिला’ भनिएन, तर सर्वोच्च नेताको पत्नीको प्रतीकात्मक हैसियत बेलाबेला सार्वजनिक बहसमा आउने गर्दथ्यो। दिवंगत राष्ट्रपति इब्राहिम रायसीकी पत्नी जमिलेह आलमोलहोदाले एक टेलिभिजन अन्तर्वार्तामा ‘प्रथम महिला’ शब्द प्रयोग गर्दा कट्टरपन्थी वृत्तबाट ठूलो आलोचना भएको थियो। उनीहरूको तर्क थियो कि यो पदवी केवल सर्वोच्च नेताको परिवारका लागि मात्र सुरक्षित छ।

राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार मन्सुरहलाई मशहदस्थित इमाम रजाको दरगाहमा आफ्ना पतिकै छेउमा समाधिस्थ गरिनेछ।

(प्रस्तुत समाचार इरान इन्टरनेशनलबाट अनुवाद गरिएको हो)

सिफारिस