एजेन्सी । इरानका पूर्व सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि योजनामा यो साता पटक-पटक परिवर्तन गरिएको छ। यो फेरबदलले बढ्दो सुरक्षा चुनौती, विदेशी प्रतिनिधिहरूको सहभागितामा रहेको अनिश्चितता र उत्तराधिकारको विषयमा देखिएको अन्योललाई उजागर गरेको छ।
मार्च १ मा खामेनीको निधनको पुष्टि भएलगत्तै घोषणा गरिएको सुरुवाती योजना अनुसार तेहरान, कोम र मशहदमा तीन चरणको शवयात्रा र त्यसपछि उनको गृहजिल्लामा अन्त्येष्टि गर्ने तयारी थियो।
तर, एक दिनपछि उनकी पत्नी मन्सुरे खोजस्तेह बागेरजादेहको निधनको घोषणा भएसँगै अधिकारीहरूले मशहदस्थित इमाम रेजा मजारमा दुवै जनाको संयुक्त अन्त्येष्टि गर्ने निर्णय गरेका थिए।
बुधबार बिहान सरकारी टेलिभिजनले खामेनीको शव श्रद्धाञ्जलीका लागि तेहरानको मोसल्ला (प्रार्थना स्थल) मा राखिने जनाएको थियो। तर, मध्याह्नसम्ममा सो कार्यक्रम स्थगित गरियो। केही घण्टापछि जारी गरिएको अर्को अपडेटमा सो कार्यक्रम कहिले हुने भन्नेबारे स्पष्ट खुलाइएन। पछि, सरकारी टेलिभिजनले बुलेटप्रुफ सिसाको पछाडि शव प्रदर्शन गर्नका लागि मञ्च तयार गरिरहेका कामदारहरूको फुटेज प्रसारण गरेको थियो।
क्षेत्रीय युद्धको तनावपूर्ण अवस्थाबीच इरानले राज्य स्तरको अन्त्येष्टि आयोजना गरिरहेको छ। अर्को नियुक्त हुने सर्वोच्च नेतामध्ये जोसुकैलाई पनि निशाना बनाउने चेतावनी इजरायली अधिकारीहरूले दिइसकेका कारण सुरक्षा चिन्ता उच्च छ।
पूर्व राष्ट्रपति इब्राहिम रइसीको अन्त्येष्टिका बेला तेहरानमै हमास नेता इस्माइल हानियाको हत्या भएपछि, हिजबुल्लाह र हुथी विद्रोहीसँग सम्बन्धित कतिपय विदेशी प्रतिनिधिहरूले उपस्थितिको विषयमा चिन्ता व्यक्त गरेका छन्। हालका लागि चीन र रुसका तल्लो तहका प्रतिनिधिमण्डल मात्र उपस्थित हुने अपेक्षा गरिएको छ।
उत्तराधिकारको विषयले थप अनिश्चितता थपेको छ। ‘विज्ञहरूको सभा’का सदस्य अहमद खातमीले बुधबार सरकारी टेलिभिजनमार्फत बोल्दै सो समितिले खामेनीको उत्तराधिकारीबारे अझै अन्तिम निर्णय गरिनसकेको बताए। “युद्धको समयमा सबैलाई आफ्नो धारणा राख्न दिनु निकै कठिन छ,” उनले थपे।
केही धर्मगुरुहरूले पूर्व नेताको अन्त्येष्टि नहुँदै नयाँ उत्तराधिकारी घोषणा गर्नु अनुपयुक्त हुने तर्क गरिरहेका छन्। अर्कातिर, ठूलो भिडका सामू नयाँ नेता घोषणा गर्दा सरकारको एकता र वैधानिकता झल्किने भन्दै केही अधिकारीहरूले त्यसको पक्षमा वकालत गरिरहेका छन्।
अधिकारीहरू लाखौँको सहभागिता देखाउन विभिन्न सहरबाट समर्थकहरूलाई बसमा ओसार्ने प्रयास गरिरहेको सरकारी टेलिभिजनले स्वीकारेको छ। सन् १९८९ मा आयातोल्लाह रुहोल्लाह खोमेनीको अन्त्येष्टिमा देखिएको विशाल भिडलाई पुनरावृत्ति गर्ने प्रयास गरिए पनि, अहिलेको युद्ध र सार्वजनिक असन्तुष्टिको माहोलमा त्यो चुनौतीपूर्ण देखिएको छ।
विशेषज्ञहरूका अनुसार, नयाँ नेताको घोषणा गर्दा देखिने गरी ठूलो र प्रतीकात्मक शक्ति प्रदर्शन गर्ने इरानी नेतृत्वको चाहनाका कारण पनि अन्त्येष्टिमा ढिलाइ भइरहेको हुन सक्छ।
(यो सामग्री इरान इन्टरनेशनलबाट अनुवाद गरिएको हो।)