काठमाडौँ । कपिलवस्तुको महाराजगञ्जस्थित बर्गदवामा दुई समुदायबीच उत्पन्न तनावपछि जिल्ला प्रशासनले तीन दिनदेखि निषेधाज्ञा जारी राखेको छ। ७ चैतदेखि लागू गरिएको उक्त निषेधाज्ञा हालसम्म कायम छ।
मन्दिरमा भजन गाउने क्रममा भएको तोडफोडको विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायका युवाबीच विवाद चर्किएको थियो। सम्भावित झडपलाई नियन्त्रणमा लिन प्रशासनले कुनै पनि प्रकारका भेला, सभा तथा जुलुस गर्न रोक लगाएको जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ। उनीहरूमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
राम नवमीका अवसरमा मन्दिरमा भजन र इदका बेला मस्जिदमा नमाज पढ्दा दुवैतर्फ माइकको आवाजलाई लिएर विवाद सुरु भई झडपमा परिणत भएको थियो। झडपका क्रममा ढुंगा प्रहार हुँदा पाँच जना सामान्य घाइते भएका थिए।
कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेका अनुसार अवस्था क्रमशः सामान्य बन्दै गएको छ। उनले भोलिसम्म निषेधाज्ञा हटाउने विषयमा छलफल भइरहेको जानकारी दिए।