तिनाउ नदीमा हराइरहेका अर्का भारतीय किशोर पनि मृत फेला

दियोपोस्ट संवाददाता

काठमाडौँ । पाल्पास्थित तिनाउ नदीमा आइतबारदेखि हराइरहेका अर्का ब्यक्ति पनि मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार आज दिउँसो घटनास्थलबाट करिब २०० मिटर तल नदीबाट १८ वर्षिय मोहम्वद फहरान अन्सारीको शव फेला परेको हो ।

उनी भारतको उत्तर प्रदेशस्थित मेधावल ठाकुरद्वार नगर पञ्चायत १८, सन्तकबिर नगरका बासिन्दा रहेको प्रहरीले जनाएको छ । यस अघि सोही स्थानका १७ वर्षीय अमन अन्सारी पनि मृत फेला परेका थिए । नदीमा नुहाउने क्रममा दुबै जना डुबेर आइतबारदेखि बेपत्ता भएका थिए । उनीहरुको खोजी तथा उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको थियो ।

घुम्न आएका अन्य व्यक्तिहरू भने सकुशल रहेको प्रहरीले जनाएको छ । प्रहरीले खोलानदीमा नुहाउँदा सावधानी अपनाउन र जोखिमपूर्ण स्थानमा प्रवेश नगर्न समेत सर्वसाधारणलाई अनुरोध गरेको छ।