शपथ पछि सांसदले पाएको झोलामा संविधानदेखि तथ्य पुस्तिकासम्म

दियोपोस्ट संवाददाता  

काठमाडौं । नवनिर्वाचित सांसदहरूले आज आयोजित विशेष समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शपथ ग्रहण कार्यक्रम सम्पन्न भएसँगै संघीय संसद सचिवालयले सांसदहरूलाई आवश्यक सामग्रीसहितको झोला उपलब्ध गराएको छ।

संसदीय कार्यसम्पादनलाई सहज बनाउने उद्देश्यले प्रदान गरिएको उक्त झोलामा विभिन्न महत्वपूर्ण दस्तावेज तथा सामग्री समावेश गरिएको छ। झोलाभित्र दैनिक कार्यका लागि उपयोगी डायरी र पेन राखिएको छ भने कानुनी तथा प्रक्रियागत जानकारीका लागि नेपालको संविधान पनि समावेश गरिएको छ।

यसका अतिरिक्त राष्ट्रिय सभा नियमावली, २०७५ तथा प्रतिनिधि सभा नियमावली, २०७९ पनि झोलामा राखिएको छ, जसले सांसदहरूलाई सदन सञ्चालनसम्बन्धी प्रक्रिया बुझ्न सहयोग पुर्‍याउनेछ। साथै, संघीय सांसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ पनि समावेश गरिएको छ।

संसदीय संयुक्त बैठक र समितिको कार्यप्रणालीबारे जानकारी दिन ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८०’ समेत झोलामा राखिएको छ। यसका साथै, तथ्यांक तथा सन्दर्भ सामग्री समेटिएको तथ्य पुस्तिका पनि प्रदान गरिएको छ।

संसद सचिवालयका अनुसार, यी सामग्रीहरूले सांसदहरूलाई आफ्नो दायित्व निर्वाह गर्न आवश्यक आधारभूत जानकारी र मार्गदर्शन प्रदान गर्ने विश्वास गरिएको छ।

सिफारिस