
काठमाडौँ,फागुन १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले वाईंडबडी विमान खरिद प्रकरणमा दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको कुनै संलग्नता नरहेको दाबी गर्नुभएको छ ।
आज बसेको नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले केही तत्वले मन्त्री अधिकारीलाई वाईडबडी प्रकरणमा जोडेर मान दर्मन गर्न खोजेको भन्दै आपत्ति जनाउनुभयो । मन्त्री अधिकारी कुनै पनि लोभलालचमा पर्ने खालको नभएको भन्दै उहाँले वाईडबडी प्रकरणमा जोडेर लाञ्छना लगाउने काम भएको भएपनि त्यो सत्य नभएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीले नेपालको नागरिक उडड्यनको क्षेत्रमा असाधारण काम गरेको पनि स्मरण गराउनु भयो । बैठकमा प्रधानमन्त्री ओलीले दुर्घटनामा ज्यान गुमाएका सातै जनाको परिवारको अवस्था र आवश्यकता हेरेर सरकारले आर्थिक सहयोग उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
संसदीय दलको बैठकले सातै जनाप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले ज्यान गुमाएका परिवारलाई उचित राहतको व्यवस्था गर्न सरकारलाई अनुरोध गरेको छ ।