अभिनन्दन वर्तमान: पाकिस्तानले बुझायो भारतीय वायुसेनाका पाइलट भारतलाई

दियो पोस्ट  

पाकिस्तानले आफ्नो कब्जामा भएका भारतीय वायुसेनाका विमानचालकलाई मुक्त गरेको छ।

पाकिस्तानले एउटा भारतीय लडाकु विमानलाई बुधवार आफ्नो भूमिमा खसालिदिएको थियो। सो विमानका चालक अभिनन्दन वर्तमान त्यसपछि उसको कब्जामा परेका थिए।

उनलाई पाकिस्तान र भारतको वाघा-अटारी सीमामा भारतीय पक्षलाई बुझाइएको हो।

उनलाई विमानमा राखेर इस्लामाबादबाट लाहौर लगिएको थियो। त्यहाँबाट पाकिस्तानी सेनाका गाडीहरू उनलाई लिएर स्थलमार्गबाट वाघा पुगेका थिए।

भारतीय वायुसेनाका अधिकारीहरू पनि हस्तान्तरण कार्यक्रममा उपस्थित थिए।

वर्तमानलाई स्वागत गर्न हजारौँ भारतीयहरू सीमावर्ती अटारीमा जम्मा भएका थिए। उनीहरूले हातमा मिष्ठान्न, विभिन्न नारा लेखिएका ब्यानर र माला बोकेको देखिन्थ्यो।

तीमध्ये एक जनाले समाचारसंस्था एएफपीलाई भने, “हाम्रा नायक आफ्नो देश फर्किन लागेकाले हामी धेरै खुसी छौँ।”

अभिनन्दन वर्तमानलाई स्वागत गर्न भारतको पन्जाब राज्यका मुख्यमन्त्री अमरिन्दर सिंहले पनि जाने इच्छा राखेका थिए। तर मर्यादा भङ्ग होस् भनेर उनी सीमामा गएनन्।

उनी मुक्त हुनुभन्दा अगाडि भारतका प्रधानमन्त्रीले तमिलनाडुको कन्याकुमारीमा बोल्दै तमिलनाडु निवासी वर्तमानप्रति आफू गौरवान्वित भएको बताएका थिए।

किन गर्‍यो पाकिस्तानले मुक्त?

फेब्रुअरी १४ मा भारत प्रशासित कश्मीरमा एउटा आत्मघाती आक्रमण भएपछि भारत र पाकिस्तानबीच तनाव चुलिएको थियो।

कम्तीमा ४० जना भारतीय सुरक्षाकर्मीहरूको ज्यान गएको सो घटनामा पाकिस्तान संलग्न भएको आरोप भारतले लगाएको छ।

तर पाकिस्तानले त्यसको खण्डन गरेको छ। सो घटना गराएको दाबी गर्ने लडाकु समूह जैश-ए-मोहम्मदको शिविर रहेको भन्दै भारतले पाकिस्तानको बालाकोटमा हवाई आक्रमण गरेको थियो।

यसै क्रममा भारतले आफ्नो वायुसेनाका विमानहरू प्रयोग गरेर विभिन्न कारबाही गरेको थियो। त्यसको आफूले प्रतिरोध गरेको पाकिस्तानले बताएको छ।