गोरखा, फागुन ३० । राष्ट्रिय गौरवको आयोजनाको रूपमा निमार्ण गर्न लागिएकोे बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने घरगोठ, फलफूल र बोटबिरुवाको तथ्याङ्क सङ्कलनको काम शुरु भएको छ । आयोजनाको पुनःबास तथा पुनःस्थापना एकाइले बुधबारदेखि गोरखा र धादिङ दुवै जिल्लाको डुबान क्षेत्रमा तथ्याङ्क सङ्कलनको काम शुरु गरेको हो ।
तथ्याङ्क सङ्कलनका लागि दुवै जिल्लाका कषि ज्ञान केन्द्र, भवन डिभिजन कार्यालय र वन कार्यालयका प्राविधिक परिचालन गरिएको आयोजनाको पुनःबास तथा पुनःस्थापना एकाइ सिउरेनीटार कार्यालयका प्रमुख कृष्ण कार्कीले जानकारी दिए । “बुधबारदेखि गोरखातर्फ गण्डकी गाउँपालिकाको ध्याल्चोक बसेरी र धादिङतर्फ सलाङबाट तथ्याङ्क सङ्कलन शुरु भएको छ”, उनले भने, “दुई महीनाभित्रमा सक्ने गरी प्राविधिक परिचालन गरेका छौँ ।”
डुबान क्षेत्रमा पुगेर प्राविधिकले घरगोठ, फलफूल, रुख र अन्य संरचनाको लगत सङ्कलन गर्ने उनले बताए । लगत सङ्कलनमा जाने प्राविधिकलाई आयोजनाले दुई पटकसम्म तालीमसमेत प्रदान गरेको एकाइ प्रमुख कार्कीले जानकारी दिए ।
आयोजनाले भवन डिभिजन कार्यालय, वन कार्यालय र कृषि कार्यालयबाट चार÷चार प्राविधिकलाई तालीम दिएको एकाइका प्रमुख कृष्ण कार्कीले बताए । भवनबाट खटिएका प्राविधिकले घरगोठको संरचनाको तथ्याङ्क सङ्कलन गर्ने तथा वन कार्यालयबाट खटिएका प्राविधिकले रुख तथा बोटबिरुवाको तथ्याङ्क सङ्कलन गर्ने उनले बताए ।
त्यस्तै कृषिज्ञान केन्द्रबाट खटिएका प्राविधिकहरुले डुबान क्षेत्रमा पर्ने फलफूलको तथ्याङ्क सङ्कलन गरेर ल्याउने एकाइ प्रमुख कार्कीको भनाइ छ । छिटो र विश्वसनीय ढङ्गले तथ्याङ्क सङ्लकनका लागि सजिलो होस् भनेर आयोजनाले विशेष प्रविधियुक्त मोबाइल एप्लिकेसनको निर्माण गरेको उनले बताए । मोबाइल एप्लिकेसनबाट तथ्याङ्क सङ्कलन गर्दा सही गणना निकाल्न सहज हुने एकाइ प्रमुख कार्कीले बताए ।
आयोजनाले चालू आर्थिक वर्षभित्र मुआब्जा वितरणको काम सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिएको उनले जानकारी दिए ।
चालू आर्थिक वर्षको चैत महीनाभित्र जग्गाको मुआब्जा वितरण सकेर चालू आर्थिक वर्षभित्र घरगोठ फलफूलको पनि मुआब्जा वितरण सम्पन्न गर्ने लक्ष्य आयोजनाको रहेको एकाइका प्रमुख कार्कीको भनाइ छ । आयोजनाबाट गोरखातर्फ गण्डकी गाउँपालिका, शहीदलखन गाउँपालिका, आरुघाट गाउँपालिका, भीमसेन थापा गाउँपालिका र आरुघाट गाउँपालिकामा गरी कुल ३० हजार रोपनी क्षेत्रफल जमीन डुबानमा पर्ने आयोजनाले जनाएको छ ।