
काठमाडौँ,चैत ४ । सरकारले मधेस आन्दोलनको छानविन प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्ने प्रतिवद्धता जनाएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सर्वोच्च अदालतका पुर्व न्यायाधिश गिरिसचन्द्र लाल संयोजकत्वमा गठित आयोगको प्रतिवेदन यथासिघ्र सार्वजनिक गरिने प्रतिवद्धता जनाउनुभएको हो ।
राष्ट्रिय जनता पार्टीले सदनमा उठाएको मागलाई सरकारले सकारात्मक रुपमा लिएको तथा सभामुखले गरेको रुलिङप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउदै प्रतिवेदन छिट्टै सार्वजनिक गरिने उहाँले बताउनुभयो । राजपाले गिरिशचन्द्र लाल प्रतिवेदन सार्वजनिक गर्न माग गदै संसदमा अवरोध गर्दै आएको छ । राजपाका सांसदको अवरोधका कारण प्रतिनिधिसभाको आजको पहिलो बैठक पनि प्रभावित भएको थियो ।
दोश्रो बैठकमा सरकारको तर्फबाट कानून मन्त्री ढकालले प्रतिवेदन सार्वजनिक गर्ने सम्बन्धमा सरकारको प्रतिवद्धता राखेपछि राजपाका सांसदहरु बैठक सुरु गर्न सहमत भएका छन् ।