प्रदेश ३ का सामाजिक सुरक्षा मन्त्री युवराज दुलाललाई उनकै जिल्लामा बहिस्कार !

दियोपोस्ट संवाददाता

सिन्धुपाल्चोक, ५ फागुन । विवादका बीच प्रदेश न ३ का सामाजिक तथा विकास मन्त्री युवराज दुलाल शरदले इन्द्रावती गाउँपालिकाको वडा ५ प्युघर माझी भदौरे एकिकृत बस्तीको शिलान्यास गरेपछि गाउँपालिका प्रमुखसहित स्थानीयले निर्माणस्थलबाटै बहिष्कार गरेका छन् ।

अक्सफामको आर्थिक सहयोगमा महिला आत्मनिर्भर केन्द्रले ३६ माझी परिवारको लागि बनाउन लागेको एकिकृत बस्ती शिलन्यास मंगलवार हुने भनिएपनि नेकपाका कार्यकर्ता स्थानीयबीच विवाद हुँदा बीचैमा रोकिएको थियो ।


गाउँपालिका, वडादेखि स्थानीय माझीलाई समेतलाई सूचना नदिई बुधवार शिलान्यास कार्यक्रम गरेपछि सबैले बहिष्कार गरेको इन्द्रावती गाउँपालिकाका प्रमुख वंशलाल तामाङले बताए ।


‘वडाध्यक्ष, स्थानीयदेखि गाउँपालिकामा यस कार्यक्रमबारे कुनै खबर ,छलफल गरिएको छैन्, यसरी पनि शिलान्यास कार्यक्रम हुन्छ ?,’ उनले प्रश्न गरे । सहयोगी संस्था, माझी भदौरे निर्माण समितिदेखि स्थानीय माझी समुदायले विरोध जनाउँदै अनुपस्थित भएका छन् । मन्त्रीसहित नेकपाका नेता कार्यकर्ताले एकलौटी शिलान्यास कार्यक्रम गरेपछि समुदायसहित जनप्रतिनिधिले बहिष्कार गरेको उनको भनाई छ ।


‘सोझा माझीको नाममा राजनीतिक पहुँच देखाएर विवास्पद शिलान्यास गरिएको छ,’उनले भने । विरोधबीच पनि मन्त्रीसहितको टोली निर्माणस्थलमा आएर शिलान्यास गरेपछि स्थानीय आन्दोलित बनेका छन् । सहयोगी संस्था महिला आत्मनिर्भरता केन्द्र (मान्क) र निर्माण पक्षले विवास्पद शिलान्यासमा सहभागी नै नभएको जनाएको छ ।

महिला आत्मनिर्भरता केन्द्रकी अध्यक्ष डोल्मा तामाङ र कार्यक्रम संयोजक उमेश नकर्मीले राजनीतिक विवादको कारण मन्त्रीको शिलान्यास कार्यक्रममा नगएको बताए ।
संम्बन्धित पक्ष कोही उपस्थित नभइ विवादबीच गरिएको कार्यक्रमले एकिकृत बस्तीलाई अन्योलमा पारेको इन्द्रावती गाउँपालिका वडा ५ का अध्यक्ष दुर्गाबहादुर तामाङले बताए । ‘जनप्रतिनिधिलाई खबर नदिइ पेलेर बस्ती शिलान्यास गरिएको छ,मन्त्री ज्यू स्वयमले यस्तो विवादपूर्ण काम गर्नुभयो,’ उनले भने ।
स्थानीय श्रोतकानुसार नेकपा स्थानीय कार्यकर्ताले सामाजिक तथा विकास मन्त्री युवराज दुलाल शरद ल्याउने आन्तरिक निर्णय गरेको बताईन्छ ।
स्थानीय निर्माण समितिसहित माझी समुदायले यसको विरोध गर्दै माइन्यूट च्यातेको माझी भदौरे एकिकृत बस्ती निर्माण समितिकी अध्यक्ष सर्मिला माझीले बताइन् ।

‘जेष्ठ व्यक्तिबाट शिलान्यास गराउने संस्था ,स्थानीय तह र निर्माणलगायत तिन पक्षको निर्णय हुँदाहुँदै यस्तो लज्जास्पद शिलन्यास गरिएको छ,’ माझीले भनिन् । राजनीतिक हस्तक्षेपपूर्ण शिलान्यासले गर्दा एकिकृत बस्तीको काम विवादले गर्दा रोकिन पुगेको उनले सुनाइन् ।


‘विस्थापीत परिवारको नाममा यसरी राजनीति नहोस्, एकिकृत बस्ती पनि बनोस्,’ उनले भनिन् ।
सामाजिक तथा विकास मन्त्री युवराज दुलाल शरद सहित नेकपा कार्यकर्ताले समुदाय,संस्थादेखि स्थानीयबिना शिलान्यास गरेपछि स्थानीय रुष्ट बनेको उनले बताइन् ।

सम्बन्धित खबर

सिफारिस