
काठमाडौँ । प्रथम दलित सगरमाथा आरोही विजय विश्वकर्मा घिमिरेले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेपछि दलित महिला पनि यस तर्फ आकर्षित भएका छन् । आउँदो बैशाखभित्र सगरमाथा आरोहण गरिसक्ने भन्दै कपिलबस्तुकी ज्ञानमाला रणपाल विहिबार त्यसतर्फ प्रस्थान गरेकी छिन् ।
दलित महिलाको हातबाट पहिलो पटक विश्वको सवोच्च शिखर सगरमाथामा नेपालको झण्डा गाडेर बिश्व किर्तिमानी कायम गर्ने उद्धेश्य अनुरुप आफुले सगरमाथा आरोहण गर्न लागेको उनले बताइन् । ‘जातीय विभेद र उपेक्षाका कारण दलितहरु अवसरबाट बञ्चित हुनु परेको भन्दै असर पाएको खण्डमा दलित महिलाले पनि उल्लेखनीय काम गर्न सक्छन् भनेर बिश्वलाई देखाउनु छ’ उनले भनिन् ।
रणपालले पहिलो पटक दलित महिलाको तर्फबाट सगरमाथा आरोहण गर्न लागेको हुँदा सहयोगका लागि प्रथम दलित सगरमाथा आरोही बिजय बिश्वकर्मा घिमिरेले सम्पूर्ण सरोकारवालाहरुलाई अपिल गरेका छन् । उनले हाम्रो देशका दलित महिलाहरु सक्षम भइसकेको र उनीहरुले पनि सगरमाथा आरोहण गरेर इतिहास रचना गर्न सक्ने बताए । उनले भने, ‘हाम्रा चेलीहरु के कुरामा कम छन् र? अवसर पाएको खण्डमा सगरमाथा आरोहण गरेर किर्तिमानी कमाउन सक्छन् ।’
सगरमाथा आरोही रन्पालले ०७६ बैसाखसम्म आरोहण पुरा गरि काठमाडौँ फर्किने कार्यक्रम छ ।