राष्ट्रियसभाका सांसदको सरकारलाई प्रश्न, ‘सडकको खाल्टाखुल्टी कहिले टालिन्छ?’

दियोपोस्ट संवाददाता

काठमाडौँ, ८ । राष्ट्रियसभाका सांसदले देशका विभिन्न स्थानमा देखिएको सडक समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । सङ्घीय संसद्, राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदले राजधानी र देशका अन्य स्थानमा समेत देखिएको सडकको खाल्टाखुल्टी र धुवाँधुलोको समस्या समाधान गर्न माग गरे ।

सांसद धनकुमारी खतिवडाले काठमाडौँको धुवाँधुलोको अन्त्य कहिले हुन्छ भनी सरकारसँग प्रश्न गरिन् । सांसद चन्दा चपाईँले सुर्खेत जिल्लामा देखिएको अस्पताल, विद्युत्लगायत समस्याबारे सरकारको ध्यानाकर्षण गराइन् ।

बैठकमा बोल्दै सांसद प्रकाश पन्थले पोखरास्थित पृथ्वी राजमार्ग जीर्ण भएका कारण सडक दुर्घटना झन्झन् बढ्दै गएको हुँदा जतिसक्दो चाँडो समस्या समाधान गर्न आग्रह गरे । उनले ट्राफिक समस्या समाधान गर्दै वैकल्पिक व्यवस्था गर्नसमेत माग गरे ।

सांसद बलरामप्रसाद बाँस्कोटाले प्रदेश– ३ का हेटौडा डालगायत स्थानमा देखिएको बर्डफ्लु र त्यसले पारेको सङ्क्रमण तथा किसानलाई परेको मर्काका बारेमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद मुक्तकुमारी यादवले धनुष र सिरहा जिल्लामा रहेका पुल जीर्ण भएकाले पुनःनिर्माण र निर्माणका लागि पहल गर्नुपर्ने माग गरे । सांसद युट्रोल तामाङले विधेयक संशोधन भए पनि त्यसको कार्यान्वयन गर्नाको सट्टा सिंहदरबारका दराजमा लगेर थन्काउने काम भएको बताए ।

सम्बन्धित खबर

सिफारिस