विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक पारित

दियोपोस्ट संवाददाता

काठमाडौँ,चैत ८ । राष्ट्रियसभाले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक २०७५ पारित गरेको छ । आज बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट संदेश सहित प्राप्त विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक २०७५ लाई बहुमतले पारित गरेको हो ।

बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्तृका प्रसाद यादवले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक २०७५ लाई पारित गरियोस् भनि प्रस्ताव गर्नुभएको थियो ।
त्यसअघि विधेयकमाथिको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री यादवले विधेयकमा प्रतिनिधिसभाबाट केही विषयमा संसोधन पनि भई आएको र आवश्यक परे भविश्यमा संसोधन गर्न सकिने भएकाले विधेयक पास गरि सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

संयुक्त संसोधनकर्ताको तर्फबाट राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले विधेयकमा रहेका प्रावधानले हजारौ नेपालीको रोजी रोटी खोसिने भन्दै कार्गो सेवालाई पनि विदेशी लगानी आवश्यक नपर्ने सूचीमा राख्नुपर्ने माग गर्नुभयो ।
कार्गो सेवा पनि सेवा व्यवसाय भएको र यसमा विदेशी लगानी भित्र्याउदा स्वदेशी कामदारको रोजी रोटी खोसिने भन्दै ७ नम्बर अनुसुची थप गरि त्यसलाई समावेश गर्न माग गर्दै उहाँले संसोधन दर्ता गराउनुभएको थियो ।
विदेशी लगानी खुल्ला नगरिएका उद्योग या व्यवसाय भनेर कुखुरा पालन, व्यक्तिगत सेवा व्यवसाय, घर जग्गा खरिद बिक्रि लगायत साना साना उद्योग व्यवसायलाई नेगेटिभ लिस्टमा राखि ६ वटा अनुसूचीमा उल्लेख गरिएको छ ।
राष्ट्रिय सभाको अर्को बैठक आगामी आईतबार बिहान ११ बजेका लागि बोलाईएको छ ।

सम्बन्धित खबर

सिफारिस