काठमाडौं, चैत १५ । एसियाली विकास बैंक(एडीबी)ले ‘समृद्ध नेपालः सुःखी नेपाली’ बनाउने नेपाल सरकारको अभियानमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।
आजदेखि काठमाडौंमा सुरु भएको ‘नेपाल लगानी सम्मेलन’मा एडीबीका उपाध्यक्ष सिजिन चेनले नेपालको पूर्वाधार विकासमा जोड दिँदै आएको एडीबीले अब जलविद्युत क्षेत्रमा धेरै लगनी गर्ने योजना अघि सारे ।
नेपालमा राजनीतिक स्थायित्व कायम भएको तथा सरकारले विकास, निर्माणको कामलाई तीव्रता दिएकाले यसमा वैदेशिक लगानी बढाउन उपयुक्त वातावरण बन्दै गएको पनि उनले बताए ।
उपाध्यक्ष चेनले नेपालको गरिवी निवारण, पूर्वाधार विकास, शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा गर्दै आएको सहयोगको दायरालाई पनि बढाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे । उनले नेपालले २५ वर्ष भित्र समृद्ध हुने लक्ष्य लिएको उल्लेख गर्दैै त्यसका लागि विकास साझेदार संस्थाहरुले पनि आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरे ।