
दुर्गा देवकोटा
कैलाली, फागुन २१ । कैलालीमा नेपाल र भारतसँग सीमा जोडिएका सीमा स्तम्भको स्तरोन्नति कार्य शुरु भएको छ । नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले सीमा क्षेत्रका स्तम्भको स्तरोन्नति कार्य सुरु गरेको हो । सीमा स्तम्भ मर्मतका लागि नेपाली टोलीमा सर्वेक्षण टोली नं ४ का नापीप्रमुख सुदर्शन सिंह धामीको नेतृत्वमा छ जनाको टोलीले काम शुरु गरेको छ ।
उता, भारततर्फ भारतीय टोलीका सर्भेयर नेत्र सिंह सहितको टोलीले संयुक्त रुपमा काम थालेको छ । सीमा स्तम्भ स्तरोन्नतिका लागि कैलालीको भजनी नगरपालिकाअन्तर्गत ७०९ मुख्य पिलरका सहायक पिल्लर १, २, ३, ४, ५, ६, ७ र ८ नं र टीकापुर नगरपालिकाअन्तर्गत ७०३ मुख्य पिल्लरका सहायक पिल्लर १, २, ३ र ४ को स्तरोन्नति भइरहेको नापी प्रमुख सुदर्शन सिंह धामीले बताए ।
‘बिजोर पिल्लर हामीले बनाइरहेका छौँ, जोर पिल्लर भारतले बनाउने गरेको छ’, नापीप्रमुख धामीले भने, ‘नेपालले बनाउने पिल्लर स्तरोन्नतिको खर्च नेपालले र भारतले बनाउने पिल्लरको स्तरोन्नतिको खर्च भारतले नै गर्ने गरेको छ ।’ ‘हामीले संयुक्त सर्वेक्षण गरेर काम गरिरहेका छौँ’, धामीले भने, ‘असमान खालका पिल्लर पनि समान खालका बनाउन थालेका छौँ । अब जेठ महिनासम्म काम सक्ने योजना छ ।’ उनले पुराना पिल्लर साना आकारका भएकाले बर्सातमा बाढी र कटानले हराउने समस्या हुन थालेपछि स्तरोन्नति आवश्यक भएको बताए । स्तम्भ सुरक्षित भएमा सीमामा प्रहरीलाई सुरक्षा गर्न सहज हुने धामीले बताए ।
नापी टोलीले नदीमा रहेका पिल्लर भने अहिले मर्मत नगर्ने भएको छ । नेपाल–भारतका १३ सीमा स्तम्भ कर्णाली र मोहना नदीको कटानमा परेका छन् । टीकापुर नगरपालिकाअन्तर्गत पर्ने नेपाल–भारत सीमा क्षेत्रका १३ सीमा स्तम्भ ९पिल्लर० हरु कर्णाली र मोहना नदीको कटानमा परेका छन् । नगरपालिकाको नेपाल–भारत सीमा क्षेत्रमा जम्मा ३१ सीमा पिल्लर छन् त्यसमा १३ वटा विगत केही वर्षदेखि नदीमा आउने बाढी र कटानमा परेको स्थानीय बासिन्दाले बताएका छन् । ती पिल्लरका लागि थप सर्भे आवश्यक रहेको धामी बताउँछन् ।
खक्रौलास्थित बोडर आउट पोष्टका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक चन्द्रदेव भट्टले जोर अङ्कका पिल्लर भारतले र बिजोर अङ्कका पिल्लरको नेपालले स्तरोन्नति गर्ने कार्य गरिरहेको बताए । टीकापुर नगरपालिकाको क्षेत्रमा मुख्य पिल्लरहरु ७००, ७०१, ७०२, ७०३, ७०४, ७०५ र ७०६ मुख्य सीमा पिल्लर रहेकामा ७०१, ७०३ र ७०६ मुख्य सीमा पिल्लरहरु अहिले कर्णाली र मोहना नदीमा परेका छन् ।
यस्तै सहायक सीमा पिल्लरमा ७०२÷२, ७०२र३, ७०२÷४, ७०२÷५, ७०२÷६, ७०२÷७, ७०४÷३, ७०४÷४, ७०४÷६, ७०५÷३ कर्णाली र मोहना नदीको कटानमा परेका छन् । ‘विगत केही वर्षदेखि नदीमा आउने बाढी पछिको कटानका कारण सीमा पिल्लर नदीमा परेका छन्’, टीकापुर नगरपालिका–८ का वडाध्यक्ष तथा नगर कार्यपालिकाका प्रवक्ता दीर्घबहादुर ठकुल्लाले भने, ‘हाल नदीले कटान गरेका सीमा पिल्लरलाई सर्वे नक्शाले देखाएअनुसार प्रहरीले सुरक्षा गरिरहेको छ ।’ रासस