कोरोनाभाइरसले अमेरिकी शेयर बजारमा गिरावट, भाइरस नियन्त्रणका लागि ८.३ अर्ब विनियोजन

दियो पोस्ट  

काठमाडौँ, फागुन २३ । कोरोनाभाइरसका कारण अर्थतन्त्रमा पर्नसक्ने असरको डरका कारण अमेरिकी शेयर बजारमा निकै गिरावट आएको छ। बिहीबार डाउ जोन्स इन्डस्ट्रियल एभरेज नौ सय सत्तरी विन्दु अर्थात् तीन दशमलव ६ प्रतिशतले तल झरेको हो ।

कोरोना सङ्क्रमणका कारण विश्वभर पर्यटन उद्योगमा पहिले नै नकारात्मक असर पर्न थालिसकेको छ।त्यसले गर्दा यात्रा, पर्यटन, उड्डयन, समुद्री यात्रालगायतका व्यवसायमा गम्भीर मन्दी आएको छ।

अमेरिकी विमान सेवा कम्पनीका साथसाथै विमान निर्माता कम्पनीको शेयरमा पनि गिरावट आएको छ। युरोपेली शेयर बजार पनि ओरालो लागेको छ।

भाइरसको संक्रमणको रोकथामका लागि भन्दै अमेरिकी माथिल्लो सदन सिनेटले कोरोनाभाइरस सङ्क्रमण फैलनबाट रोक्ने प्रयासका लागि ८.३ अर्ब डलर बराबरको बजेट स्वीकृत गर्ने एउटा आकस्मिक विधेयक पारित गरेको छ।

बुधवार उक्त विधेयक तल्लो सदनले पारित गरेको थियो। त्यसलाई अब राष्ट्रपति डोनल्ड ट्रम्पसमक्ष हस्ताक्षर गरी लागु गर्नका लागि पठाइनेछ। तीन अर्ब डलरभन्दा बढी कोरोनाभाइरसविरुद्धको भ्याक्सिन विकास गर्न, ,परीक्षण गर्न र परीक्षणका लागि सारजामको व्यवस्था गर्नका लागि खर्च गरिनेछ। बाँकी रकम कोरोनाभाइरसको सङ्क्रमणसँग लड्ने अन्तर्राष्ट्रिय पहलका लागि खर्च हुनेछ।

कोरोनाभाइरस सङ्क्रमण रोक्ने कार्यको नेतृत्व गरिरहेका अमेरिकी उपराष्ट्रपति माइक पेन्सले अमेरिकासँग अहिले पनि उक्त भाइरस परीक्षण गर्ने पर्याप्त सारजामहरू नभएको बताएका छन्। उता इटलीले हालसम्म कोरोनाभाइरस सङ्क्रमणका कारण एक सय ४० जनाको मृत्यु भएको विश्वास गरेको बताएको छ।

बुधवारको तुलनामा त्यो करिब ४० प्रतिशतको वृद्धि हो।