संकटालाई हराउदै त्रिभुवन आर्मी क्लव आहा रारा गोल्डकपको सेमिफाइनलमा

दियो पोस्ट  

काठमाडौँ, फागुन २७ । विभागिए टिम त्रिभुवन आर्मी आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा आर्मीले संकटा क्लवलाई तीन शुन्यले हरायो ।

पोखरा रंगशालामा भएको खेलमा आर्मीले सुरुवात देखि नै आक्रामक खेल खेलेको थियो । खेलको १५ औं मिनेटमा संकटाले पाएको मौकामा लक्ष्मण रुचाल चुक्नपुगे ।

तर त्यसको एक मिनेटपछि आर्मीले खेलमा अग्रता बनायो । उसका सुदिल राईले गोल गर्न सफल भए । नवयुग श्रेष्ठले मिलाएको बललाई सुदिलले गोल गरेका हुन ।

एक खेलले अग्रता बनाएको आर्मी ३० औं मिनेटमा अर्को मौका पाएको थियो । तर यसपटक आर्मीका नवयृग श्रेष्ठ चुक्न पुगे । ४१ औं मिनेटमा संकटाले अर्को मौका खेर फाल्यो । उसका ड्याडी जुनीयरको प्रहार पोष्ट नजिकैबाट बाहिरीयो ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको आर्मीले दोस्रो हाफमा दुई गोल थप्यो । ७१ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गरे । उनले संकटाको डिफेन्डसको कमजोरीलाई आत्मसाथ गर्दै गोल गरे ।

७५ औं मिनेटमा आर्मीले तेस्रो गोल गर्यो । यसपटक उसका लागि विवेक बस्नेतले गोल गरे । त्यसपछि संकटा खेलमा फर्कन सकेन र क्वाटरफाइनलबाट बाहिरीयो । खेलको इन्जुरी समयमा जर्ज प्रिन्सले डिबक्स भित्र पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।

अब आर्मीले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ । मनाङ झापा–११ लाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा पुगिसकेको छ । अर्को सेमिफाइनलमा साविक विजेता थ्री स्टार क्लब र विभागीय टिम नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।