टोटनह्याम हट्स्पर युरोपेली च्याम्पियनस लिगको प्रिक्वार्टर फाइनलबाटै बाहिरिएको छ । जर्मन क्लब लिप्जिगसँग ३–० को पराजय भोगेपछि गत संस्करणको फाइनलिस्ट टोटनह्यामको यात्रा सकिएको हो ।
दश वर्षअघि स्थापना भएको लिपजिगले दोस्रो लेगमा उत्कृष्ट प्रदर्शन गरेको थियो । टोटनह्यामको मैदानमा भएको पहिलो लेगमा १–० को जित निकालेको लिपजिगले आफ्नो मैदानमा तीन गोल थप्यो ।
मार्सल स्याबिट्जरले पहिलो हाफमा नै दुई गोल गरेपछि टोटनह्याममाथि चरम दबाब आएको थियो ।
१० औं मिनेटमा स्याविट्जरले २० यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भयो । २१औं मिनेटमा पोस्ट नजिकैबाट एन्जेलिनोको पासमा हेडर गर्दै लिप्जिगलाई समग्रमा तीन गोलको अग्रता दिलाए ।
पहिलो हाफमा सो अग्रता कायम राखेको लिपजिगले दोस्रो हाफमा एक गोल थप्यो ।
८७औं मिनेटमा इमिल फोर्सबर्गले गोल गरे । स्याबिट्जरको स्थानमा मैदान प्रवेश गरेपछिको पहिलो सटमा नै गोल गरेका थिए ।
इन्ज्युरीको मारमा रहेको टोटनह्याम खेलमा फर्किन सकेन ।