
काठमाडौँ, फागुन २९ । मनाङ–मर्स्याङ्दी क्लव पोखरामा जारि आहा रारा गोल्डकपको फाइनल पुगेको छ । बिहीबार विभागिय टिम त्रिभुवन आर्मी क्लवलाई ३–२ गोलले पराजित गर्दै मनाङले फाईनलमा स्थान सुरक्षित गरेको हो ।
पोखरा रंगशालामा भएको खेलमा मनाङले आर्मीको चुनौती तीन दुईले पन्छायो । खेलमा सेट नहुँन पाउँदै मनाङले आर्मी विरुद्ध अग्रता बनायो । चौथो मिनेटमा सुशिल लामाको कर्नरमा अञ्जन विष्टले मिलाइदिएको पासलाई विदेशी खेलाडी फ्लोरेन्टले गोल गर्न सफल भए ।
१८ औं मिनेटमा मनाङले पाएको अर्को मौकालाई आत्मसाथ गर्न सकेन । यसपटक उसका अञ्जन विष्टको प्रहार पोष्टमा रहन सकेन ।
त्यसको अर्को मिनेटमा आर्मीका भरत खवासको प्रहारलाई मनाङका गोलकिपर सोजित गुरुङले बचाए । २४ औं मिनेटमा मनाङले अन्तर दोब्बर पार्ने उत्कृष्ट मौका खेर फाल्यो । उसका दयानन्द सिंह वन भर्सेस वनमा चुक्न पुगे ।
२९ औं मिनेटमा मनाङले अन्तर दुई शुन्यमा पुर्यायो । यसपटक अन्जन विष्टको पासमा विमल रानाले गोल गर्न सफल भए । खेलमा दुई गोलले पछि परेको अवस्थामा ४२ औं मिनेटमा आर्मीले एक गोल फर्कायो । समुन अर्यालको क्रसमा भरत खवासले गोल गर्न सफल भए ।
पहिलो हाफमा एक गोलले अगाडी रहेको मनाङ विरुद्ध आर्मीले दोस्रो हाफमा झन आक्रामक फुटबल खेलेको थियो । ६७ औं मिनेटमा आर्मीका कप्तान भरत खवासले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।
६९ औं मिनेटमा आर्मीले अर्को मौका खेर फाल्यो । भरत खवासको क्रसमा जर्जप्रिन्स कार्कीको हेडर प्रयास फ्रमेमा रहन सकेन । ७५ औं मिनेटमा आर्मीको अर्को उत्कृष्ट प्रहार खेर गयो । डिबक्स भित्र पाएको बललाई नवयुगले गोलमा परिणत गर्न सकेनन् ।
८१ औं मिनेटमा मनाङले खेलमा तेस्रो गोल गर्यो । उसका लागि अञ्जन विष्टले गोल गरे । उनले विमल रानाको पासमा आर्मीका गोलकिपरलाई विट गर्दै गोल गरे । जारी प्रतियोगितामा अञ्जनको यो दोस्रो गोल हो ।
८३ औं मिनेटमा आर्मीले अन्तर तीन दुईमा झार्यो । यसपटक आर्मीका लागि दिपकुमार लामाले गोल गरे । उनले सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका टंक बस्नेतको पासमा दिपले गोल गरे ।
त्यसपछि आर्मी खेलमा फर्कन सकेन र पराजित भयो ।