दोलखा भीमसेनलाई पसिना, पुजा गर्न पुगे प्रधानसेनापती पुर्णचन्द्र थापा

दियोपोस्ट संवाददाता

उद्वव विश्वकर्मा

दोलखा, चैत ४ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाद्वारा दोलखाको सुप्रशिद्ध भीमेश्वर मन्दिरको दर्शन तथा विभिन्न पुजा गरी देश, जनता र सेनाको भलोको लागि प्रार्थना गरेका छन् ।

सोमबार बिहान हेलिकप्टरबाट श्रीमतीसहित तारादल गण चरिकोटमा अवतरण गरेका प्रधानसेनापति थापाले भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिको अतिविशिष्ट उपस्थिति माइन्युटमा देश, जनता र सेनाको भलो होस् भन्ने कामना गरेको समितिले जनाएको छ ।

करिब एकमहिनाअघि फागुन ८ भीमेश्वरको शिलामा १७ औं पटक पसिना आएपछि अतिविशिष्ट श्रेणीको यो पहिलो पुजाअर्चना हो । भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ हुने धार्मिक मान्यताको कारण पनि नेपाली सेनाको प्रधानसेनापति थापाद्वारा गरिएको पुजाअर्चनालाई बिशेष रुपमा हेरिएको छ ।

प्रधानसेनापति थापाले बिहान ९ बजेदेखि ११ बजेसम्म रुदी र लघुरुद्री पुजा अर्चना गरेको भीमेश्वर नगरपालिका वडा नं २ का वडाध्यक्ष विराजमान श्रेष्ठले जानकारी दिए । अतिविशिष्ट दर्जाका नेपाली सेनाका पदिकहरु समेतको सहभागितामा प्रधानसेनापति थापाले त्रिपुरासुन्दरी ९देवीकोट० मन्दिरमा समेत करिब डेढघण्टा विभिन्न पुजाअर्चना सम्पन्न गरेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

एक शिला तीन अवतारको रुपमा पुजाअर्चना गरिने भीमेश्वरको ३ बजे पछि नारायणको रुपमा गरिने राजपुजालाई प्रधानसेनापति थापाद्वारा पुरै समय अनुष्ठान गरी टिका तथा प्रसाद ग्रहन गरेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । तारादल गण चरिकोटले आयोजना गरेको विशेष भोजमा सरिक भएर प्रधानसेनापति थापा सोमबार साँझ नै हेलिकप्टरमार्फत राजधानी फर्किएका छन् ।

सम्बन्धित खबर

सिफारिस