डिल्लीराज विश्वकर्मा
रुकुम, चैत ९ । रुकुम (पश्चिम)को आठविसकोट नगरपालिकाका सिमान्तक्रित बादी समुदायका नागरिकहरुलाई निशुल्क रुपमा मास्क र सावुन वितरण गरिएको छ । वडा नम्बर ९ राडी ज्युलामा फार्मेसी सञ्चालन गरिरहेका विशाल थापा र दिनेश भण्डारी तथा रेडियो नयाँ नेपालका प्राविधक सुनिल विकले सँयुक्त रुपमा बादी समुदायका नागरिकहरुलाई निशुल्क रुपमा मास्क र हात धुन सावुन वितरण गरेका हुन् ।
विश्वभरी फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमन बाट नेपाल पनि उच्च जोखिममा रहेकाले यसको रोकथाम तथा सतर्कताका लागी आज बस्तीमै पुगेर निशुल्क रुपमा मास्क र सावुन वितरण गरिएको सिस्ने मेडिसिन डिस्टिब्युटर्सका सञ्चालक भण्डारीले बताए ।
राडी बजारमा सञ्चालित न्यु ओमप्रकाश टेलर्सको सहकार्यमा मास्क उत्पादन गरी बादी समुदायका १५ घरपरिवारका सबै सदस्यहरुलाई मास्क वितरण गरिएको रेडियो नयाँ नेपालका प्राविधिक विकले जानकारी दिए ।
उनिहरुलाई मास्क वितरण गर्नुका साथै कोरोना भाइरस सम्बन्धी जनचेतना फैलाएको र साबुन पानीले हात धुने तरिका पनि सिकाइएको फार्मेसीका अर्का सञ्चालक थापाले बताए । तिन जनाको सामुहिक लगानीमा मास्क र साबुन वितरण गरिएको उनले बताए ।
बजारमा मास्कको अभाव भैरहेकाले निश्वार्थ मनले बस्तीमै आएर आफुहरुलाई उहाँहरुले मास्क वितरण गरेको भन्दै स्थानिय कलिभान नेपालीले खुशी व्यक्त गरे । यस्तै स्थानिय तारा बादीले पनि मास्क वितरण गर्ने तिनै जनालाई धन्यबाद दिईन् । साथै उनले आफुले सधै साबुन पानीले हात धुने र अरुलाई पनि यसबारेमा सचेतना फैलाउने प्रतिवद्धता व्यक्त गरिन् ।