पाटन मन्दिरबाट चोरी भएर अमेरिका पुगेको लक्ष्मी नारायणको मुर्ति नेपाललाई फिर्ता

पाटन मन्दिरबाट चोरी भएर अमेरिका पुगेको लक्ष्मी नारायणको मुर्ति नेपाललाई फिर्ता

दियोपोस्ट संवाददाता


वासिंटनडिसी, २२ फागुन । ललितपुरको पाटन मन्दिरबाट चोरी भएर अमेरिका पुगेको लक्ष्मी नारायणको मुर्ति फिर्ता हुने भएको छ । अमेरिकाको वासिंटनडिसी स्थित नेपाली राजदूताबासलाई अमेरिकी सरकारले उक्त मुर्ति फिर्ता गरेको हो ।


अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडालाई उक्त मुर्ति हस्तान्तरण गरिएको छ । बासुदेव कमलाज भनिने उक्त मुर्ति अमेरिकी सरकारको फेडरल ब्युरो अफ ईन्भेष्टिगेशन –एफबिआई)का उपनिर्देशक तिमोथी एन दुनहामले हस्तान्तरण गरेका हुन् ।

नेपालको पाटनबाट चोरी भएको उक्त मुर्ति रहस्यमयी रुपमा अमेरिकाको डलास म्युजियममा पुगेको थियो । सन् १९९० देखि नै उक्त म्युजियममा देखिएको नेपालको ऐतिहासिक मुर्ति अब नेपाल नै आउने भएको छ ।


मुर्ति हस्तान्तरण समारोहमा सम्बोधन गर्दै अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले अमेरिकी सरकार र अनुसन्धानमा समलग्न अधिकारीलाई धन्यवाद दिए । मुर्तिको वास्तविक घर नेपालमा फर्काउन सहयोग गरेको भन्दै अमेरिकी सरकारप्रति आफू कृतज्ञ रहेको उनले बताए ।


अमेरिकाको युएस डिपार्टमेन्ट अफ स्टेटका उपनिर्देशक अर्भिन मसिंगाले नेपालको ऐतिहासिक सांस्कृतिक सम्पदाको संरक्षणमा आफूहरुले पनि केही योगदान गर्न सकेको खुसी व्यक्त गरे । सम्पदा संरक्षणका लागि अमेरिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।


त्यस्तै एफबिआईका उपनिर्देशक दुनहामले सांस्कृतिक सम्पदाको संरक्षणमा नेपाल र अमेरिका दुवै राष्ट्र संवेदनशिल रहेकाले सम्पदा संरक्षणमा पार्टनरसिपको आधारमा कार्य गर्ने प्रतिबद्धता जनाए ।


३३.५ इन्च लम्बाई र १९.२५ चौडाई रहेको लक्ष्मि नारायणको मुर्ति सन् १९८४ मा पाटन मन्दिरबाट चोरी भएको थियो । चोरीपछि गैरकानुनी रुपमा अमेरिका तस्करी भएको पाइएको थियो ।

Trending News